हेटौंडाः पुस्तकालय अभियान समूह मकवानपुरले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा यही भदौ १५ गते मकवानपुर जिल्लामा ७ वटा पुस्तकालय एकैदिन उद्घाटन गर्ने भएको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापनाका लागि सहयोग गर्दै आएको समूहले जिल्लाका ५ वटा पालिकामा ७ वटा पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ ।
पुस्तकालय अभियान समूहले यसअघि ७ वटा पुस्तकालय स्थापना गरिसकेको छ । मकवानपुर जिल्लामा ६ वटा र छिमेकी बारा जिल्लामा एउटा पुस्तकालय स्थापना गरिएको छ । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ३ वटा र बकैया, मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा १/१ वटा पुस्तकालय स्थापना गर्ने तयारी भइरहेको अभियानका सदस्य सुशील राज गिरीले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरको १, १७ र १८ नम्बर वडामा वडास्तरीय पुस्तकालय स्थापना गरिन लागेको गिरीको भनाइ छ ।
व्यक्ति र संघ, संस्थाको सहयोगमा अभियान समूहले पुस्तकालय स्थापना गर्दै आएको छ । एकजना व्यक्तिले बर्षमा एक पटक ५ हजार रुपैयाँ सहयोग गरेर पुस्तकालय अभियानको सदस्य बन्न सक्ने गरी हालसम्म ७० जना व्यक्तिको सहयोगमा ७ वटा पुस्तकालय स्थापना गरिसकेको जानकारी गराउनुहुँदै अभियानका अर्का सदस्य नरेन्द्र भण्डारी भन्नुहुन्छ, ‘राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा एकसाथ ७ वटा पुस्तकालय स्थापना गर्ने क्रममा यसपटक केही संघ, संस्थासँग पनि अभियानले सहकार्य गर्नेछ ।’ यस पटक जेसीआई हेटौंडा लेडी, फर्निचर तथा फर्निसिङ व्यवसायी संघ मकवानपुर लगायत अन्य संघ, संस्थासँग पनि सहकार्यका लागि छलफल भइरहेको भण्डारीले जानकारी दिनुभएको छ ।
यसअघि पालिकास्तरमा स्थापित पुस्तकालयका पदाधिकारीको समेत सहयोगमा पालिकाको अर्को वडामा पुस्तकालय स्थापना गरिन लागेको पुस्तकालय अभियान समूहका सदस्य गोविन्द चौलागाईले जानकारी दिनुभएको छ । पुस्तकालय दिवसको अवसरमा यसअघि पुस्तकालय स्थापना भइसकेको पालिकाकै अर्को वडामा पनि पुस्तकालय स्थापना गर्ने र पुस्तकालय सञ्चालन र पुस्तकालयको प्रयोगको विषयमा छलफल समेत गर्ने गरी कार्यक्रम तय गरिएको चौलागाईले बताउनुभएको छ ।
पुस्तकालय अभियान समूहको सोमबार समीक्षात्मक बैठक समेत बसेर पुस्तकालय स्थापनासँगै पुस्तकालयको नियमित र व्यवस्थित सञ्चालन तथा पुस्तकालयको प्रयोग बढाउने विषयमा पनि भदौ महिनाको अन्तिमसम्ममा कार्यशालाको आयोजना गर्ने निर्णय भएको छ । यस्तै पुस्तकालय अभियान समूहमा आवद्ध हुन आव्हान गर्दै अभियानमा सहभागी भएका सदस्यहरुबाटै थप सदस्य जोड्न प्रयास गर्ने निर्णय गरिएको पुस्तकालय अभियान समूहका अर्का सदस्य दिनेश हुमागाईले जानकारी दिनुभएको छ ।
पुस्तकालय अभियान समूह मकवानपुरले १० जना सहयोगीको समूह बनाएर समुदायस्तरबाट पुस्तकालय स्थापना गर्न चाहनेलाई ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्दै आएको छ । समुदायस्तरमै व्यवस्थापन समिति गठन गरेर पालिकाको सहयोगमा नियमित पुस्तकालय सञ्चालन गर्ने गरी अभियानले सहयोग गर्दै आएको छ । समुदायको सक्रियतामा हालसम्म स्थापित पुस्तकालयलाई सम्बन्धित पालिकाबाट आवश्यक सहयोगको प्रतिवद्धता समेत प्राप्त भइरहेको छ ।