हेटौंडा अस्पातल ।

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पतालमा कोभिड–१९ संक्रमण भएका बिरामीहरुलाई छुट्टै स्थानमा उपचार गर्ने गरी वार्ड सञ्चालनमा आएको छ । बुधबारबाट हेटौंडा अस्पतालले कोभिडका बिरामीहरुका लागि आकस्मिक सेवासहित बालबालिकाका लागि समेत बेड छुट्याएर वार्ड सञ्चालन गरेको हो ।

बुधबार अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा र कोभिड इन्चार्ज डा. सागर काफ्लेले संयुक्तरुपमा कोभिड वार्डको उद्घाटन गर्नुभएको छ । १७ बेड आईसीयू, १४ बेड एचडीयू, ६ बेड बालबालिका एचडीयू, १० बेड कोभिड वार्ड र ३ बेडको आकस्मिक (इमर्जेन्सी) सेवासहित वार्ड सुचारु गरिएको प्रतिष्ठानका सदस्य उत्सव चौलागाईंले जानकारी दिनुभयो । यसअघि कोभिडका लक्षण देखिएका बिरामीहरुलाई समेत अस्पतालकै आकस्मिक कक्षबाट उपचार गरिँदै आएको थियो ।