अध्यादेशको विरुद्धमा हेटौंडामा प्रदर्शन गरिँदै ।

हेटौंडाः राजनितिक दल विभाजनसम्बन्धी अध्यादेशको विरुद्धमा हेटौंडामा प्रदर्शन भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौंडा उपमहानगर कमिटीले बुधबार हेटौंडाको बुद्धचोकमा संविधानविपरीत अध्यादेश ल्याइएको भन्दै बिरोध प्रदर्शन गरेको हो ।

बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सन्तोष पौडेलले हालका प्रधानमन्त्री शेरबहादुर देउवा को हुन् र कस्ता मान्छे हुन् भनेर सबैलाई छर्लंगरुपमा थाहा भएको र आफ्नोमात्र स्वार्थ हेर्ने देउवाले आफूलाई प्रधानमन्त्रीमा टिकाइराख्नकै लागि अध्यादेश ल्याएर एमाले फुटाउने काम गरेको भन्दै यस कामको सबै मिलेर बिरोध गर्नुपर्ने बताउनुभयो । अध्यादेश ल्याएकै कारण अब प्रधानमन्त्री देउवाको दिनगन्ती सुरु भएको भन्दै उहाँले अनेरास्ववियुले सडकबाटै धुलो चटाउन सक्ने भएकाले होशियार रहन चेतावनी दिनुभयो ।

यस्तै, गठबन्धन सरकारले ल्याएको जनविरोधी, लोकतन्त्र बिरोधी र दलीय व्यवस्थाविरुद्धको राजनीतिक दल फुटाउन सजिलो हुनेगरी संविधानविपरीत अध्यादेश ल्याइएको भन्दै यो गणतन्त्र विरोधी, अशान्ति र अस्थिरताको पक्षमा रहेको अनेरास्ववियु केन्द्रीय सदस्य आशीष अस्लामीले बताउनुभयो । यसैगरी अनेरास्ववियु केन्द्रीय सदस्य नवीन मिश्रले वर्तमान सरकारलाई चुनौती दिँदै गठबन्धन सरकारले अध्यादेश फिर्ता नलिए यो अध्यादेश नै अन्तिम अध्यादेश बन्ने बताउनुभयो । वर्तमान सरकारले तुरुन्तै अध्यादेश फिर्ता नगरे सरकारको दिन छोटिन्ने पनि उहाँको भनाई रहेको छ ।

प्रदर्शनमा राजनीतिक दल विभाजनको अध्यादेश फिर्ता गर, विद्यार्थी एकता जिन्दावाद, अनेरास्ववियु के भन्छ– राजनितिक स्थिरता ले भन्छ लगायत नारा लगाइएको थियो । अनेरास्ववियुले प्रदर्शनकै क्रममा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशसमेत जलाएको थियो ।

अनेरास्ववियु हेटौंडा उपमहानगरपालिका कमिटी संयोजक नवराज पौडेलको सभाध्यक्षतामा भएको बिरोध प्रदर्शनमा नेकपा एमाले नेताहरु सम्राट तुम्बाहाङ्फे, शालिकराम पुडासैनी, नवीन सिग्देल, सानु लामा, सुनिल लोप्चन, रमिला सापकोटा, सुरेश मिजार अनेरास्ववियु केन्द्रीय सदस्यहरु नितेश लामिछाने, कृष्ण घिमिरे, मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुर जिल्ला अध्यक्ष प्रकाश सुवेदी, अनेरास्ववियु मकवानपुर जिल्ला कमिटी सदस्यहरुलगायतकाको आतिथ्यता रहेको थियो ।