हेटौंडाः हेटौंडा उमहानगरपालिका ९ नम्बर वडा कार्यालय मकवानपुरले सिआन पुनस्र्थापना केन्द्रलाई प्रदान गरेको व्यायाम (जिम) सामग्री सबै वडाबासीले प्रयोग गर्न पाइने वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताउनुभएको छ । केही दिनअगाडि वडा कार्यालयले सिआनलाई व्यायाम सामग्री प्रदान गरेकोमा वडाका केही युवाहरुले बिरोध जनाएपछि व्यायाम सामग्री सम्पूर्ण वडाबासीको भएकाले सबैले प्रयोग गर्न मिल्ने उहाँले बताउनुभएको हो ।
वडामा २ वर्षअगाडि नै उपमहानगरपालिकाबाट ३ लाख रुपैयाँ बराबरको व्यायाम सामग्री आएपनि यसलाई प्रयोगमा ल्याउन सकिएको थिएन । युवाहरुलाई मिलेर यसको व्यवस्थापन गर्न बारम्बार आग्रह गर्दा पनि कसैले चासो नदेखाएका कारण विगत २ वर्षदेखि सामानहरु बिग्रिने अवस्थामा पुगिसकेको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । २ वर्षदेखि संरक्षण र व्यवस्थापन गर्नका लागि कोही अगाडि नआउने र अहिले कुनै संस्थाले संरक्षण गर्छु भनेर जिम्मा लिँदा बिरोध गर्नु ठिक नभएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘आजसम्म व्यायाम सामग्री कुन अवस्थामा छ भनेर कसैले चासो दिएनन् । भवन पनि बनाइदिन्छौं, यसको संरक्षण गर्दै प्रयोग गर भन्दा पनि जिम्मा लिन कोही अगाडि बढेनन् । अहिले सिआनले जिम्मा लिएर प्रयोगमा ल्याउँछौं भन्दा के नराम्रो भयो र ?’ वडा अध्यक्ष भण्डारीले विवादको विषयलाई थप प्रष्ट पार्दै भन्नुभयो– ‘सिआन पुनस्र्थापना केन्द्रले आफ्नै नयाँ भवन निर्माण गरेका कारण व्यायाम स्थलको लागि ठाउँ पनि छुट्याएकाले हामीले व्यायाम सामग्रीलाई त्यहाँबाट प्रयोगमा ल्याएका हौं ।’ सिआनले नै सामानको रेखदेख गर्ने र सबैले प्रयोग गर्न पाउने शर्तमा सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।
वडाबासीका लागि आएको व्यायाम सामग्री संस्थालाई दिएको भन्दै नेपाली कांग्रेस निकट भातृसंगठन नेपाल तरुण दल हेटौंडा ९ नंं वडा कमिटीले बिरोध जनाएको छ । वडाबासीको हक मारेर नाफामूलक सुधार केन्द्रलाई व्यायाम सामग्री किन दिइयो भन्ने विषयमा छानबिन हुनुपर्ने तरुण दलले माग गरेको छ । साथै आर्थिक लेनदेनको कुरा मिलाएर वडाको सामान संस्थालाई दिइएको हुनसक्ने भन्दै तरुण दलले आरोप लगाएको छ । व्यायाम सामग्री हस्तान्तरणको विषयलाई लिएर बिरोध जनाउँदै शनिबार तरुण दलले वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको घरअगाडि सहित वडाभित्र सिठ्ठी जुलुस गरेको थियो ।
लागूपदार्थ दुव्र्यसनविरुद्ध सक्रिय सिआन पुनस्र्थापना केन्द्रका निर्देशक सौजन डीसीले व्यायाम सामग्रीको विषयमा लगाइएको आरोपहरु गलत भएको बताउनुभएको छ । २ वर्षदेखि कसैले प्रयोग गर्न नपाएको व्यायाम सामग्रीलाई सबैले प्रयोग गर्न पाउने गरी सञ्चालनमा ल्याउँछु भन्दा कसरी गलत भयो भनेर बताउन पनि उहाँले आग्रह गर्नुभएको छ ।
लागूऔषध प्रयोगकर्ताको उपचारमा निस्वार्थ सेवाभावको भावनाले लागिरहेको संस्था पूर्णरुपमा गैरनाफामूलक संस्था भएको निर्देशक डीसीले जानकारी दिनुभयो । संस्था सञ्चालनको बिधानमा नै पुनस्र्थापना केन्द्र गैरनाफामूलक संस्था भएको उल्लेख गरिएको उहाँले बताउनुभयो । केन्द्रमा व्यायाम गर्न आउने सबै वडाबासीहरुले सामग्री प्रयोग गर्न पाउने पनि उहाँले प्रष्ट पार्नुभयो । व्यायाम सामग्री वडाबासीकै लागि भएकाले संस्थाले त्यसको संरक्षण र व्यवस्थापनमात्र गर्ने उहाँको भनाई रहेको छ ।