हेटौंडाः मकवानपुर प्रहरीले मास्क नलगाई हिँड्ने ५४ जनालाई जरिवाना गरेको छ । जिल्लामा जारी निषेधाज्ञाको अवज्ञा गर्दै न्युनतम स्वास्थ्य मापदण्ड समेत पालना नगरी मास्क नलगाई हिड्ने ५४ जनालाई शनिबार जनही १ सय रुपैयाँका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक जयश्वर रिमालसहितको टोलीले मास्क नलगाई हिँड्नेलाई जरिवाना गरेको हो । यस्तै प्रहरीले शनिबार नै मास्क नलगाई हिड्ने सर्वसाधारणहरुलाई ३ सय ८७ थान मास्क समेत प्रदान गरेको जनाइएको छ । उनीहरुलाई मास्क प्रदान गरि सम्झाई बुझाई छाडेको नायव प्रहरी उपरिक्षक रिमालले जानकारी दिनुभयो ।
जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी निषेधाज्ञा थप कडा गरिरहेको छ । जिल्लामा अहिले निश्चित समयमा मापदण्ड पालना गरि पसलहरु ४ घण्टामात्र सञ्चालन गर्न दिइएको छन् ।
प्रशासनले जिल्लामा कोरोनाको जोखिम बढ्न थालेको भन्दै आज आइतबारबाट मालपोत कार्यालय र नापी कार्यालय हेटौंडा एक हप्ता बन्द गर्ने निर्णय गरेको छ । यस्तै जिल्ला प्रशासनले नागरिकता र राहदानी सम्बन्धी सेवाहरु हप्ताको रोलक्रम अनुसार सञ्चालन गर्ने निर्णय गरेको छ ।
