Home मुख्य समाचार विद्यालय सञ्चालनमा सबैको भूमिका हुनुपर्छ : प्रधानाध्यापक कर्ण

विद्यालय सञ्चालनमा सबैको भूमिका हुनुपर्छ : प्रधानाध्यापक कर्ण

प्रधानाध्यापक परमानन्द सरोज कर्ण ।

हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले शैक्षिक सत्र–२०८२ मा स्वर्णजयन्ती मनायो । स्वर्णजयन्ती मनाउँदै गर्दा यो ऐतिहासिक कार्यक्रमको अभिभावकत्व लिन वैधानिक विद्यालय व्यवस्थापन समिति भने थिएन । वडा नम्बर २ कार्यालयले नै कार्यक्रमको अभिभावकत्व लिँदै कार्यक्रम सम्पन्न गर्‍यो ।

तत्कालीन विद्यालय व्यवस्थापन समितिको समायावधि २०८१ चैत १५ गते सकिएपछि भएको अभिभावक भेलाबाट नयाँ समिति निर्माण गर्न नसक्दा हालसम्म पनि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । बागमती प्रदेश सरकारले ठूला विद्यालयको समूहमा समावेश गरेको यस विद्यालयमा अझै पनि विद्यालय व्यवस्थापन समिति गठनको कुनै छाँटकाँट देखिँदैन ।

अभिभावक भेलाले सहमतिमा विद्यालय व्यवस्थापन समिति निर्माण गर्न खोजे पनि सहमति हुन सकेन । त्यसपछि पनि विद्यालय प्रशासनले धेरै पटक समिति गठनका लागि सहमतिको प्रयास गरे पनि सफल भएको छैन । अभिभावक भेलाबाट विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकबाटै विद्यालय व्यवस्थापन समितिको चार जना सदस्य चयन गर्नुपर्नेमा विभिन्न राजनीतिक दलहरुको टकरावले समिति गठन हुन नसकेको विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले गुनासो गर्नुभयो ।

विद्यालय व्यवस्थापन समिति निर्माणको काम फलामको चिउरा बन्न पुगेको विद्यालयमा अभिभावकको पठनपाठनमा चासो पनि निकै कम रहेको प्रधानाध्यापक कर्णको अनुभव छ । विद्यालयमा आफ्ना बालबालिकाका समस्या तथा पढाइबारे शिक्षकसँग अन्तरक्रियामा कुनै चासो नभएको पाइएको उहाँको भनाइ छ । अभिभावक बैठक तथा शिक्षकसँग अन्तरक्रियामा करिब २५ प्रतिशत अभिभावकहरु मात्रै सहभागी हुने भन्दै उहाँले विद्यालयमा अधिकांश गरिब, विपन्न तथा न्यून शैक्षिक अवस्थाका अभिभावकहरुका बालबालिका अध्ययन गर्ने गर्दछन् । यसकारण पनि विद्यार्थीको नतिजाको चिन्ता विद्यालयले मात्रै लिने गरेको उहाँको भनाइ छ ।

सिद्धार्थ माध्यमिक विद्यालयको २०८१ सालको एसईईको नतिजा ६७ प्रतिशत रहेकोमा २०८२ को नतिजामा सुधार भएर ७५ प्रतिशत प्राप्त गर्ने अपेक्षा विद्यालयले गरेको छ । विद्यालयबाट १ सय १२ जना विद्यार्थीहरु एसईईमा सहभागी भएका छन् । हाल यस विद्यालयमा बालकक्षादेखि कक्षा १० सम्म १ हजार ७ सय ४१ जना र कक्षा ११, १२ मा १ सय ६८ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन र कानून विषय पठनपाठन भइरहेको छ । कक्षा १० सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन हुने विद्यालयमा हाल दरबन्दीका ३३ जना र निजी स्रोतका १६ जना शिक्षकहरु रहेका छन् । १२ जना कर्मचारी पनि निजी स्रोतबाट राखिएको छ ।

शैक्षिक सत्र २०८० को एसईईमा ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भए पनि पछिल्ला तीन वर्षको वार्षिक परीक्षाको नतिजामा विद्यालयले विस्तारै लय समाउँदै गएकोप्रति प्रधानाध्यापक कर्ण खुसी व्यक्त गर्नुहुन्छ । करिब ६० प्रतिशत तराईका विद्यार्थीहरु पढ्न आउने यस विद्यालयमा विद्यार्थी संख्याअनुसारको कक्षाकोठाको अभाव भएको उहाँको गुनासो छ । प्रविधिमैत्री साधन प्रयोग गरी कक्षा सञ्चालन गर्ने विद्यालयको योजना भए पनि हरेक कक्षामा उपलब्ध नहुँदा प्रविधिमैत्री बनाउन सकिएको छैन । यस्तै विद्यालय व्यवस्थापन समिति नहुँदा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने योजनामा सहभागी हुन नपाएको प्रधानाध्यापक कर्णले उल्लेख गर्नुभयो ।

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको निर्णय पेश गर्न नसकिएको प्रधानाध्यापक कर्ण बताउनुहुन्छ । यस्ता समस्याका बाबजुद पछिल्लो समय नतिजामुखी शैक्षिक क्रियाकलाप गर्दै उठ्न खोजिरहेको उहाँको भनाइ छ । यस विद्यालयमा वडा कार्यालयले पनि अभिभावकत्व ग्रहण गर्दै यस वर्ष १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउँदै कर्णले विद्यालयको भौतिक संरचना निर्माणमा १० लाख तथा प्रविधिमैत्री कार्यक्रममा ५ लाख रुपैयाँ खर्च गरेको जानकारी दिनुभयो ।

२०५५ सालदेखि सिद्धार्थ माध्यमिक विद्यालयमा अध्यापनरत प्रधानाध्यापक कर्ण आउँदो जेठ महिनामा अवकास हुँदै हुुनुहुन्छ । विद्यालयलाई सुधारोन्मुख बनाउन शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरु एक भएर लाग्नुपर्ने उहाँ बताउनुहुन्छ । विद्यालय व्यवस्थापन समिति तत्कालै निर्माण नगरे विद्यालय अझै समस्यामा जानसक्ने उहाँको आँकलन छ । यस्तै, अभिभावकहरुलाई पनि आफ्ना बालबालिकाबारे सचेतना कार्यक्रम गर्नुपर्ने उहाँको भनाइ छ । विद्यालयमा प्रतिवर्ष विद्यार्थीको संख्या बढेसँगै वार्षिक परीक्षाको समयमा विद्यार्थीहरुले विद्यालय छोडिसकेको हुने समस्यालाई रोक्न विद्यालय तथा अभिभावकहरु मिलेर समन्वय गर्नुपर्ने उहाँको सुझाव छ ।

Exit mobile version