सामाजिक विकास मन्त्री सरस्वती बस्नेतबाट सपथ ग्रहण गर्दै नवनियुक्त प्रदेश युवा परिषदका सदस्यहरु


हेटौंडाः बागमती प्रदेश युवा परिषद्का नवनियुक्त मनोनित सदस्यहरुले बिहीबार शपथ लिएका छन् । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सभाहलमा सामाजिक बिकास मन्त्री सरस्वती बस्नेतले बागमती युवा परिषदका मनोनित सदस्यहरुलाई शपथ ग्रहण गराउनुभएको हो ।


सामाजिक बिकास मन्त्रालयले युवा परिषद्को सदस्यमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, बसन्त न्यौपाने, छोटी लामा, सुदिप गौतम, प्रिती श्रेष्ठ, डालिया नेपाली नियुक्त गरेको हो ।

मनोनित सदस्यहरुको नियुक्ति तथा सपथ ग्रहणपछि प्रदेश युवा परिषद्ले पुर्णता पाएको छ । मन्त्री बस्नेतले अबको आवश्यकता स्वरोजगार युवा भएकोले युवालाई स्वरोजगारमुखी चिन्तनका साथ अघि बढ्न र कायृक्रम गर्न सुझाव दिनुभएको छ । यस्तै मनोनित सदस्यहरुले प्रदेशका सबै जिल्लाका युवाहरुको समस्यालाई समेट्ने गरी काम गर्न उहाँले निर्देशन दिनुभएको छ ।

प्रदेश युवा परिषद् ऐन २०७६ अनुसार मन्त्रालयले उपाध्यक्ष सहित युवाको हक हितको संरक्षणमा योगदान पुर्याएका कम्तीमा महिला तिन जनासहित ६ जना र उद्योग , श्रम, कृषि, खेलकुद, बिज्ञान, प्रबिधि, सुचना सञ्चार लगायत वातावरण, साहित्य तथा कलाको क्षेत्रबाट प्रतिनिधीत्व हुने गरी चार जना र लैंगिक तथा यौनिक अल्पसङ्ख्यक मध्येबाट १ जना गरि मनोनित ११ जना सदस्यहरु नियुक्त गर्ने व्यवस्था छ ।

गएको असार ४ गते परिषद्को उपाध्यक्षमा सन्तोष चौलागाइ नियुक्त हुनुभएको भएपनि सदस्यहरुको नियुक्ति नहुँदा परिषद्ले पुर्णता पाउन सकेको थिएन ।

यसअघि बिहिबार नै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश युवा परिषद्को कार्यालय उद्घाटन गर्नुभएको थियो ।