हेटौंडाः हेटौंडा क्याम्पसको प्रशासन खुल्ने समय बढाउन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौंडा क्याम्पस कमिटीले माग गरेको छ । दैनिक ५ घण्टामात्रै क्याम्पस प्रशासन खुल्दा धेरै भिडभाड हुने र कोरोनाको जोखिम पनि बढेको भन्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण समेत गराइएको छ ।

प्रशासन खुल्ने समय कम हुँदा तथा समय अनुकुल नहुँदा नयाँ भर्ना हुन आउने विद्यार्थी एंव अभिभावकहरु यसै फर्किनुपरेको भन्दै अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीले क्याम्पस प्रमुखलाई समय अनुकुल हुने गरी बिहान ९ बजेदेखि ५ बजेसम्म प्रशासन खुलाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियुले क्याम्पस प्रशासन खुल्ने समय बिहान ९ बजे देखि ५ बजेसम्म खुल्ला गर्न माग गर्दै बिहीबार क्याम्पस प्रमुख देवचन्द्र मानन्धरलाई ज्ञापनपत्र बुझाएको हो । हाल बिहान ७ बजेदेखि १२ बजेसम्म मात्रै क्याम्पस प्रशासन खुल्ने गरेको छ ।

अनेरास्ववियुले लामो समयदेखि क्याम्पसको पुस्तकालय बन्द भएको भन्दै व्यवस्थित रुपमा संचालन गर्न पनि क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र मार्फत नयाँ कक्षाको विद्यार्थीहरुले पठनपाठन सुरु हुँदा समेत पुस्तकालयबाट पुस्तक नपाएको हुँदा क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराइएको अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटी संयोजक अभि मैनालीले बताउनुभयो । साथै अनरोस्ववियुले हाल भइरहेको अनलाईन कक्षालाई प्रभावकारी ढंगले सम्पूर्ण विद्यार्थीलाई समेट्ने गरी संचालन गर्न पनि माग गरेको छ । अहिलेको विषम परिस्थितिमा विद्यार्थीहरुलाई ढाड सेक्ने गरी उच्च शुल्क नलिन पनि अनेरास्ववियुले माग गरेको संयोजक मैनालीले जानकारी दिनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!