
हेटौंडाः मकवानपुरको विकट पालिका राक्सिराङ गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु भएको छ । मातृ–शिशु स्वास्थ्य सुरक्षाका लागि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख विजय काप्रीले जानकारी दिनुभएको छ । गाउँपालिकामै पहिलो पटक अल्ट्रासाउण्ड सेवा सुरु भएको हो ।
गर्भवती महिलाले न्यूनतम् पनि ४ पटक गर्भपरीक्षण गराउनुपर्ने भए पनि अल्ट्रासाउण्ड सेवा नहुँदा राक्सिराङ गाउँपालिकाका गर्भवती महिलाहरुले नियमित गर्भ परीक्षण गराउन पाएका छैनन् । पालिकामै गर्भपरीक्षणको सुविधा नहुँदा राक्सिराङका गर्भवती महिलाहरु मनहरी गाउँपालिका या हेटौंडा उपमहानगरपालिकास्थित स्वास्थ्य संस्था धाउन बाध्य थिए । पालिकाभित्रै सेवा सुरु भएसँगै गर्भवती महिलाले नियमित गर्भ परीक्षण गराउनुका साथै आवश्यकताअनुसार गर्भ जाँच गराउन पाउने पालिकाका स्वास्थ्य प्रमुख काप्रीले जानकारी दिनुभएको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ बाट ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरिएको हो । एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिने अल्ट्रासाउण्ड मेसिन ४ लाख ५० हजार रुपैयाँमा खरिद गरेर सेवा सुरु गरेको जनाएको छ । अनमीको दरबन्दीमा कार्यरत स्टाफ नर्स रेविका तामाङलाई अल्ट्रासाउण्डसम्बन्धी दुई महिनाको तालिममा सहभागी गराएर गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरेको स्वास्थ्य प्रमुख काप्रीले बताउनुभएको छ ।
साउन १३ गतेबाट सुरु गरिएको अल्ट्रासाउण्ड सेवाबाट हालसम्म १३ जना गर्भवतीले सेवा लिइसकेका छन् । राक्सिराङ गाउँपालिकाको मुकाम चैनपुरस्थित स्वास्थ्य चौकीमा नियमित रुपमा अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिने जानकारी गराउनुहुँदै स्वास्थ्य प्रमुख काप्रीले भन्नुभयो, ‘पालिकाका तीन स्थानमा रहेको स्वास्थ्य संस्थामा पनि महिनाको एक पटक अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने छौं ।’ राक्सिराङ गाउँपालिका–२, सरिखेत कुँडुले, राक्सिराङ–६, काँकडा, राक्सिराङ–९, काँकडामा महिनाको एकपटक अल्ट्रासाउण्ड सेवा प्रदान गरिनेछ ।
राक्सिराङ गाउँपालिकामा बार्षिक करिब सात सय महिला गर्भवती हुने गरेको अनुमान गरिएको छ । ती मध्ये करिब एक सय ५० गर्भवती महिला मात्रै स्वास्थ्य संस्थामा प्रसुती सेवा लिन आउने गरेको स्वास्थ्य प्रमुख काप्रीले बताउनुभएको छ । अल्ट्रासाउण्ड सेवा सुरु भएसँगै संस्थागत प्रसुतीको दर पनि बढाउन गर्भवती र तिनका परिवारलाई सचेत गराउन सकिने पालिकाको अपेक्षा छ । पछिल्लो २ बर्ष राक्सिराङ गाउँपालिकामा मातृशिशु मृत्युदर शून्य अवस्थामा रहेको पालिकाका स्वास्थ्य प्रमुख विजय काप्रीले बताउनुभएको छ ।










