हेटौंडाः हेटौंडा–८ कमाने निवासी नवराज पौडेलको सक्रियतामा बुधबार विभिन्न मन्दिरमा वृक्षरोपण गरिएको छ । फूल रोप्न उपयुक्त मौसमको सदुपयोग गर्दै फूल तथा अन्य विभिन्न प्रजातिका विरुवा रोपिएको हो । हेटौंडा–८ मैदाटोलको शिव मन्दिर, हेटौंडा ९ को दुर्गामन्दिर तथा शिव मन्दिर, औद्योगिक क्षेत्रस्थित हनुमान मन्दिरलगायतका धार्मिक स्थल परिसरमा फूलका विरुवा रोपिएको हो । यस्तै साउनको सोमबारको अवसरमा बेलको विरुवा पनि रोपिएको छ ।

यसअघि पनि पौडेलको सक्रियतामा हेटौंडा–८ कालिका मन्दिर र ओम नगरको शिवमन्दिर, मनकामना क्षेत्र विकास मन्दिर, हेटौंडा १ चौकीटोलको भस्मेश्वर महादेव मन्दिर, चुरियामाई मन्दिरलगायतका मन्दिर परिसरमा सरसफाई गर्नुको साथै फूलका विरुवा रोपिएको थियो । धुपी, स्वामी, पारिजात, पलाँस, कल्कीलगायत अन्य विभिन्न प्रजातिका विरुवा रोपिएको पौडेलले बताउनुभयो ।

जिल्ला वन कार्यालयले विरुवा सहयोग गरेको थियो भने स्थानीयको सहभागितामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । पौडेलको सक्रियतामा मकवानपुरका विभिन्न स्थानका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षका लागि विभिन्न कार्यहरु हुँदै आएका छन् । मकवानपुरका विभिन्न मन्दिरहरु संरक्षणको पर्खाइमा रहेको र ती धार्मिक स्थलहरुको संरक्षणमा सम्बन्धित निकायहरुले खासै चासो नदेखाएको उहाँले गुनासो गर्नुभएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको संरक्षण अभियानमा सबैको साथको अपेक्षा रहेको पनि पौडेलले बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!