हेटौंडाः मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुर जिल्ला कमिटीलाई अझै सशक्तरुपमा अगाडि बढाउन केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले निर्देशन दिनुभएको छ । बुधबार भएको छलफल कार्यक्रममा केन्द्रीय अध्यक्ष श्रेष्ठले एकेडेमीलाई खेलकुदका साथै सामाजिक कामहरुमा पनि निरन्तररुपमा लागेर काम गर्न अनुरोध गर्नुभएको हो ।
जिल्ला कमिटीको गतिविधिहरुका बारेमा जानकारी लिँदै उहाले मदन भण्डारी स्पोर्टस् एकेडेमी पार्टीको भातृ संगठन नभएर विशुद्धरुपमा खेलकुद क्षेत्रमा काम गर्ने संस्थाको रुपमा लैजानुपर्ने बताउनुभयो । मदन भण्डारीको सिद्धान्तलाई आत्मसाथ गर्दै काम गर्न प्रेरित गर्ने यो संस्थालाई धेरैले पार्टीगत संस्था भन्ने गरेको भएपनि नेकपा एमाले पार्टीको जनवर्गीय संगठनजस्तो भातृ संगठन नभएको उहाँले प्रष्ट पार्नुभयो । पार्टीको पनि खेलकुदअन्तर्गत् रहेर काम गर्ने भातृ संगठनको रुपमा छुट्टै खेलकुद महासंघ भएपनि यो पार्टीको निर्देशनमा चल्ने किसिमको संस्था नभएको उहाँको भनाई थियो ।
जिफन्टका केन्द्रीय अध्यक्षसमेत रहनुभएका श्रेष्ठले मजदुरको हक हितमा आवाज उठाइरहँदा मजदुरको परिभाषाअनुसार खेलाडीले पनि मानसिक तथा शारीरिकरुपमा परिश्रम गर्ने भएकाले जिफन्टको घटक संगठनहरुजस्तै खेलकुद संगठन निर्माण गरेर स्थानीयस्तरका खेलाडीहरुलाई पनि मासिक पारिश्रमिकको व्यवस्था गर्न माग गर्ने, अन्य मजदुरसरह सेवा सुविधा प्रदान गर्ने तथा खेलाडीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने उद्देश्य रहेको बताउनुभयो ।
छलफलमा मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य नवीन सिग्देल, जिल्ला कमिटीका प्रमुख सल्लाहकार सानु लामा, जिल्ला कमिटी अध्यक्ष प्रकाश सुवेदी, मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुर जिल्ला खेलकुद शिक्षक संघका अध्यक्ष राजाराम पोखरेल, हेटौंडा नगर कमिटी अध्यक्ष सविन लामालगायतले एकेडेमीको क्रियाकलापहरुको विषयमा जानकारी गराउ“दै मन्तव्य व्यक्त गर्नुभएको थियो ।