त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेमा ट्रक चालकलाई मास्क वितरण गर्दै प्रहरी । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरमा प्रहरीले मास्क नलगाई हिड्नेलाई कारबाही गर्न सुरु गरेको छ । सोमबारबाट प्रहरीले मास्क बिना हिड्डुल गर्नेलाई धमाधम कारबाही गर्न सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतको कार्यालयबाट खटेको प्रहरीको टोलिले मास्क नलगाई हिड्डुल गर्ने १ सय २३ जनालाई कारबाही गरेको छ । उनीहरुलाई कारबाही स्वरुप १ सय रुपैयाँ जरिवाना गरेर सम्झाईबुझाई गरेर छाडिएको प्रहरीले जनाएको छ । अहिले प्रहरीले मास्क अभियान समेत सुरु गरेको छ । मास्क नलगाउनेहरुलाई प्रहरीले मंगलबार ८ सय ९९ थान निशुल्क मास्क वितरण समेत गरेको छ ।

मकवानपुरमा कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप कडा गरेको हो । प्रहरीले मङ्गबार निषेधाज्ञाको उल्लङ्घन गरि पसल सञ्चालन गरेका १० जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ । निषेधाज्ञाको अवज्ञा गरी पसल संञ्चालन गर्ने उनीहरुलाई ३-३ हजार जरिवाना गरेर छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।