हेटौंडाः २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मकवानवपुर जिल्लाका ५२ जना विद्यार्थीको जीपीए ४ आएको छ । शनिबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका ५२ जना विद्यार्थीको सर्वोत्कृष्ट नतिजा आएको हो ।

मकवानपुर जिल्लाबाट एसईई परीक्षामा सहभागी भएका ६ हजार ४ सय २३ विद्यार्थीमध्ये ६ सय २८ जनाको जीपीए ३.६१ देखि ४ सम्म आएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । जिल्लामा जीपीए ३.२१ देखि ३.६ सम्म आउने विद्यार्थीको संख्या एक हजार एक सय ८२ जना रहेको छ । यस्तै, एक हजार ९ सय १५ विद्यार्थीको जीपीए २.८१ देखि ३.२ सम्म आएको छ भने २ हजार ६९ विद्यार्थीको जीपीए २.४१ देखि २.८ सम्म आएको छ ।

सार्वजनिक नतिजाअनुसार ५ सय ४१ जना विद्यार्थीको जीपीए २.०१ देखि २.४ सम्म आएको छ भने ३८ जना विद्यार्थीको जीपीए २.६१ देखि २ सम्म आएको छ । जिल्लामा १.६ जीपीए भन्दा कम आउने विद्यार्थी शून्य रहेको छ । ४९ जना विद्यार्थीको नतिजा आउन बाँकी रहेको शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

मकवानपुर जिल्लाका एक सय ३१ वटा विद्यालयबाट एसईई परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये प्राविधिक धारतर्फका विद्यार्थी २ सय ४६ जना रहेका छन् । ३८ जना विद्यार्थीले भने ग्रेडवृद्धितर्फ परीक्षा दिएका थिए ।