नवोदय शिशु सदनले भर्चुअल प्रविधिबाट तीनदिनसम्म आयोजना गरेको नवोदय मुन कार्यक्रममा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः संयुक्त राष्ट्र संघको नमुना अभ्यास गराउने उद्देश्यका साथ हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन माविले नवोदय मोडल यूनाइटेड नेशन (मुन) कार्यक्रम शनिबार सम्पन्न भएको छ । नवोदयले भर्चुअल प्रविधिबाट तीनदिनसम्म आयोजना गरेको नवोदय मुन कार्यक्रममा सहभागी विद्यार्थीले संयुक्त राष्ट्र संघको अवधारणा र अभ्यासको विषयमा ज्ञान हासिल गर्न सफल भएको बताएका छन् ।

विभिन्न सत्रका निम्ति ६ वटा कमिटीहरु निर्माण गरिएको थियो । बिहीबार र शुक्रबारको सत्रमा अन्तर्राष्ट्रिय श्रम संगठन, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्, संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम, विश्वखाद्य संगठन र आर्थिक तथा वित्तीय मामिला परिषद्मा रही विद्यार्थीले आफ्ना परिषद्को एजेण्डामा विस्तृत छलफल गरी तार्किक भनाइहरु प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरुबीच भाइचारा सम्बन्ध स्थापित गराउनको निम्ति साँस्कृतिक साँझ कार्यक्रमसमेत आयोजना गरिएको छ । साँस्कृतिक साँझमा विविधता झल्किने प्रतिभा विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । शनिबार भएको समापन समारोहमा ६ वटा कमिटीका पदाधिकारीहरुले आफ्ना अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रममा नवोदय शिशु सदन, मोनास्टिक विद्यालय जनकपुर र एपेक्स स्कूल रुपन्देहीका सहभागी विद्यार्थीहरुले नवोदय मुन कार्यक्रमको समिक्षा गरेका थिए । कार्यक्रममा नवोदय विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थी र बुटवलमा रहेको एपेक्स विद्यालय र जनकपुरमा रहेको मोनास्टिक विद्यालयका ११ जना विद्यार्थी गरी कूल १ सय २० जना विद्यार्थीले कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रममा हरेक कमिटीका विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । नवोदयका सामाजिक विषय सुपरिवेक्षक गौतम पोखरेलले नवोदय मुनलाई विभिन्न सीपहरुको विकास गर्ने एउटा मञ्चको रुपमा हेरिएको बताउनुभएको छ । मुन कार्यक्रमले विद्यार्थीको नेतृत्व विकास, कुटनीतिक सीपको विकास, वाक् कलाको विकासमा सहयोग हुने अपेक्षा गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा प्याव्सन मकवानपुरका कार्यवहाक अध्यक्ष विनोद सुवेदी, मोनास्टीक विद्यालय जनकपुरका संस्थापक प्रिन्सिपल डा. सोनु कुमार, युथ थिङ्कर सोसाइटी चितवनका अध्यक्ष सुशील खनाललगायतको आतिथ्य रहेको थियो ।