फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले उपमहानगरभित्रका विभिन्न किसिमका अपाङ्गता भएका ५ सय ६७ जनालाई आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म अपाङ्गताको परिचयपत्र वितरण गरेको छ ।

उपमहानगरपालिकाले पूर्ण अशक्त अपाङ्गता भएकालाई ‘क’ वर्ग, अति अशक्त अपाङ्गता भएकालाई ‘ख’ वर्ग, मध्यम अपाङ्गता भएकालाई ‘ग’ वर्ग र सामान्य अपाङ्गता भएकालाई ‘घ’ वर्गको परिचयपत्र वितरण गरेको उपमहानगरपालिकाको न्यायिक, महिला, बालबालिका तथा अपाङ्ग शाखा प्रमुख विष्णु लामिछानेले जानकारी दिनुभएको छ । अपाङ्ग संरक्षण तथा कल्याण ऐन लागू भएसँगै अपाङ्ता भएकालाई वर्गअनुसार सामाजिक सुरक्षा भत्तासमेत वितरण गरिँदै आएको छ ।

हेटौंडा उपमहानगरपालिकाले शारीरिक अपाङ्गतातर्फ पूर्ण अशक्त अपाङ्गता भएका १८ जनालाई क वर्गको परिचयपत्र वितरण गरेको छ । अति अशक्त अपाङ्गता भएका ६६ जनालाई ख वर्गको, मध्यम अपाङ्गता भएका ९६ जनालाई ग वर्गको र सामान्य अपाङ्गता भएका ४७ जनालाई घ वर्गको अपाङ्गता परिचयपत्र वितरण गरेको छ । यसैगरी दृष्टिसम्बन्धी अपाङ्गताअन्तर्गत् अति अशक्त अपाङ्गता भएका ३२ जना, मध्यम अपाङ्गता भएका १४ जना र सामान्य अपाङ्गता भएका १ जनालाई क्रमशः ख, ग र घ वर्गको परिचयपत्र वितरण गरेको छ । सुनाईसम्बन्धी अपाङ्गताअन्तर्गत् अति अशक्त अपाङ्गता भएका ५७ जना, मध्यम अपाङ्गता भएका ४ जना र सामान्य अपाङ्गता भएका १ जनालाई क्रमशः ख, ग र घ वर्गको परिचयपत्र वितरण गरेको छ ।

यसैगरी, श्रवण दृष्टिविहीन अपाङ्गताअन्तर्गत १ जनालाई क वर्गको, २८ जनालाई ख वर्गको परिचयपत्र वितरण गरेको छ । स्वर बोलाईसम्बन्धी अपाङ्गताअन्तर्गत् २ जनालाई ख वर्गको र ३ जनालाई ग वर्गको अपाङ्गता परिचयपत्र वितरण गरेको छ । मानसिक वा मनोसामाजिक अपाङ्गताअन्तर्गत् ५ जनालई क वर्गको र एक जनालाई ख वर्गको परिचयपत्र वितरण गरेको हेटौंडा उपमहानगरपालिकाले जानकारी दिएको छ ।

यस्तै, बैद्धिक अपाङ्गताअन्तर्गत् पूर्ण अशक्त अपाङ्गता भएका ५२ जना, अति अशक्त अपाङ्गता भएका ५१ जना, मध्यम अपाङ्गता भएका ७ जना र सामान्य अपाङ्गता भएका एक जनालाई पनि वर्गअनुसारको प्रमाणपत्र वितरण गरेको छ । बहु अपाङ्गताअन्तर्गत् पूर्ण अशक्त अपाङ्गता भएका ४१ जनालाई क वर्गको, अति अशक्त अपाङ्गता भएका ४१ जनालाई ख वर्गको र मध्यम अपाङ्गता भएका २ जनालाई ग वर्गको परिचयपत्र वितरण गरेको छ ।

पूर्ण अशक्त अपाङ्गता भएका महिला ५५ जना र पुरुष ५७ जना गरी जम्मा १ सय १२ जना अपाङ्ग रहेका छन् । अति अशक्त अपाङ्गता भएका १ सय १८ जना महिला र १ सय ६१ जना पुरुष गरी २ सय ७९ जना अपाङ्ग रहेका छन् । यस्तै, मध्यम अपाङ्गता भएका ६१ जना महिला र पुरुष ६५ जना गरी १ सय २६ जना अपाङ्ग रहेका छन् । सामान्य अपाङ्गता भएका १९ जना महिला र ३१ पुरुष गरी ५० जना रहेका छन् । सबै अपाङहरुलाई परिचयपत्र वितरण गरेको उपमहानगरले जानकारी दिएको छ । विभिन्न वर्गका २ सय ५३ जना महिला र ३ सय १४ जना पुरुषगरी हालसम्म जम्मा ५ सय ६७ जनालाई अपाङ्गता परिचयपत्र उपमहानगरले वितरण गरेका छ । उपमहानगरभित्र विभिन्न वर्गका अपाङ्गता भएकाहरुमा महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको छ ।

पछिल्लो समय विभिन्न प्रकारका दुर्घटनाको दर बढ्दै गएका कारण अपाङ्गता भएकाहरुको संख्या पनि बढ्दै गएको हेटौंडा उपमहानगरपालिकाको न्यायिक, महिला, बालबालिका तथा अपाङ्ग शाखा प्रमुख विष्णु लामिछानेले बताउनुभयो । दुर्घटनामा घाइते तथा अंगभंग भएकाहरुको संख्या बढ्दै गएका कारण अपाङ्गताको परिचयपत्र बनाउन आउनेको संख्या पनि वृद्धि भइरहेको उहाँले जानकारी दिनुभयो ।