हेटौंडाः हेटौंडा अस्पतालबाट १८ जना मृगौला रोगीले डायलासिस सेवा लिइरहेका छन् । १४ जना पुरुष र ४ जना महिला गरी १८ जनाले डायलाइसिस सेवा लिइरहेको हेटौंडा अस्पतालका इन्चार्ज शिक्षा कार्कीले जानकारी दिनुभयो । हेटौंडा अस्पतालमा ८ ओटा डायलाइसिस मेशिनमध्ये ६ वटा मेशिनमात्र डायलासिस सेवा प्रदान गर्न सञ्चालन गरिएको र बाँकी २ ओटामध्ये एउटा इमर्जेन्सी वार्डमा र एउटा आपतकालीन अवस्थाका लागि छुट्याएर राखिएको छ ।
एकजना बिरामीलाई हप्ताको २ पटक इायलासिस गराइन्छ । ६ ओटा मेशिनबाट १८ जनालाई मात्र डायलासिस सेवा प्रदान गर्न मिल्ने उहाँले बताउनुभयो । एकजना बिरामीलाई ४ घण्टा डायलासिस गराइन्छ । अहिले डायलासिस सेवा लिइरहेका बिरामीमध्ये सबैको अवस्था सामान्य रहेको पनि कार्कीले जानकारी दिनुभयो ।
हेटौंडा अस्पतालमा मकवानपुरभित्रकै भएपनि टाढाटाढाका बिरामी डायलासिस सेवा लिन आउने गरेका छन् । विकट गाउँपालिका राक्सिराङदेखि बिरामी डायलासिस सेवा लिनका लागि आउने गरेका छन् । हेटौंडा अस्पतालबाट बिरामीलाई निःशुल्क डायलासिस सेवा प्रदान गरिएकोले टाढाटाढाबाट पनि बिरामी सेवा लिन आउने गरेको उहाँले बताउनुभयो ।
बिरामीलाई डायलासिस सेवा दिनका लागि ५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । डा. दिनेश श्रेष्ठ र ४ जना नर्स गरी ५ जनाले डायलासिस सेवा दिइरहेका छन् ।