हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेशबासी नागरिकहरुका आवश्यकतालाई सम्बोधन गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभएको छ । प्रदेश सरकारको संरचना निर्माण भएपछि प्रदेशबासीहरुको जीवनस्तर सुधार गर्नका लागि आवश्यक मागहरुलाई सम्बोधन गरेर पूरा गर्दै लगिएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७७-०७८ मा मन्त्रालयले गरेका कार्यक्रम र आर्थिक वर्ष २०७८-०७९ का लागि तयार पारिएका योजना तथा कार्यक्रमहरुका विषयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ढुंगेलले वि.सं. २०७४ सालपछि प्रदेशमा सेवाको क्षेत्र बढेको बताउनुभयो । हाल कोभिडकै कारण पनि स्वास्थ्यको क्षेत्रमा विकासका काम भएको उहाँको भनाई छ । हाल प्रदेशका हरेक जिल्लामा अक्सिजनको प्लान्ट निर्माण, हरेक पालिकामा स्वास्थ्य चौकी निर्माण, कोभिड जाँच मेशिनलगायतको व्यवस्था भएको बताउनुहुँदै उहाँले प्रदेश सरकारले नै अन्य थुप्रै विकासका कामहरु गरेको दाबी गर्नुभयो ।
बितेको ४ वर्षमा प्रदेश सरकारले हरेक जिल्लामा किसानहरुका लागि चिस्यान केन्द्र, युवाहरुका लागि कभर्डहल, रंगशाला, विद्यालयहरुको विकास निर्माणलगायतका करोडौं बजेटका ठूलाठूला कामहरु गरिरहेको उदाहरण दिनुहुँदै मन्त्री ढुंगेलले यतिका काम गर्दा पनि केही मानिसहरु सरकारले केही गरेन भन्दै रुमाल हल्लाएर हिँड्ने गरेको देख्दा अचम्म लाग्ने बताउनुभयो । यस्तै अन्य प्रदेशभन्दा बागमती प्रदेशमा कामहरु गर्न केही भिन्न हुने पनि उहाँले बताउनुभएको छ । देशका ७ वटै प्रदेशका केही मानिसहरु बागमती प्रदेशमा पनि बस्ने गरेका कारण प्रदेशका जनसंख्याको आधारमा काम गर्दा सोचेअनुरुप सहज नहुने गरेको उहाँको भनाई रहेको छ । प्रदेशले हरेक काम गर्दा ती व्यक्तिहरुलाई पनि समेटेर १० देखि १५ प्रतिशत बढी बजेट छुट्याउनुपर्ने उहाँले बताउनुभयो ।
कोरोनाको खोपको सन्दर्भमा पनि प्रदेशको जनसंख्याअनुसार खोप ल्याएको खण्डमा पनि ती नागरिकहरुका लागि पनि थप गरेर ल्याउनुपर्ने तथा अन्य सेवासुविधाहरु पनि उपलब्ध गराउनुपर्ने मन्त्री ढुंगेलले भन्नुभयो । लेख्ने क्रममा केही मसी हातमा लाग्ने तथा खाने क्रममा केही भातका सिता भुईंमा पोखिनु स्वभाविक भएको भन्दै उहाँले ठूलाठूला विकासका काम गर्दा सानातिना समस्याहरु देखिने भएकाले त्यसलाई नकारात्मक किसिमले नहेरेर कमीकमजोरीहरुलाई सुधार गर्दै राम्रा कामहरुको प्रसंशा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सचिव डण्डुराज पौडेलले प्रदेश सरकार कार्यविभाजन नियमावली अनुरुपको कार्यक्षेत्रहरु, प्रदेश सरकारको स्थापना कालदेखि हालसम्मको बजेट तथा खर्चहरुको विवरण, आर्थिक वर्षअनुसार जारी गरिएका कानुनी दस्तावेजहरु, आर्थिक वर्ष २०७७-०७८ मा राजस्व संकलन, राहत तथा छुट सम्बन्धमा गरिएका गतिविधिहरु, विनियोजित बजेट र कार्यान्वयनको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । यसैगरी आर्थिक वर्ष २०७८-०७९ को मन्त्रालय तथा निकायगत विनियोजित बजेट, राजस्व अनुमान, राजस्व संकलन, राहत तथा छुट सम्बन्धमा गरिएका व्यवस्थाहरु, सहुलियत ऋण लगानी व्यवस्थापन लगायतका विषयमा पनि उहाँले सहजीकरण गर्नुभएको थियो ।