Home मुख्य समाचार ‘हामीलाई पढाए पढछौं’

‘हामीलाई पढाए पढछौं’

फाइल तस्बिर ।

हेटौंडाः पढन् पाउनु बालबालिकाको अधिकार हो । अभिभावक सचेत नबन्दा कतिपय बालबालिकाले पढ्ने अवसरबाट वञ्चित हुनुपरेको छ । पढ्ने उमेरमा विद्यालय जान नपाएपछि तिनै बालबालिका कुलतमा फस्ने र मागेर बस्ने गरेको थुप्रै उदाहरण पाइन्छ ।

सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिसकिएको बागमती प्रदेशको राजधानी हेटौंडामा पनि बालबालबालिका सडकमा मागेर गुजारा गरिरहेको देखिनु लज्जास्पद हो । कमजोर आर्थिक अवस्थाका कारण कुनै बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्र्दैन भन्ने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको सार्वजनिक अभिव्यक्ति पनि निरर्थक बनिरहेको छ ।

हेटौंडा–१० स्थित बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयनजिकै सडक छेउमा रहेका तीनवटा झुपडीमा विद्यालय नगएका ५ जना बालबालिका भेटिन्छन् । ती बालबालिकासहित अन्य ६ जना व्यक्तिहरु पनि ती झुपडीमा बस्दै आएका छन् । पढ्ने चाहना हुँदा पनि अभिभावकको बेवास्ताले पढ्न नपाएको ती बालबालिकाले बताएका छन् । १० वर्षका अजय र ९ वर्षका अर्विन भन्छन्– ‘हामीलाई कसैले पढाए पढ्छौं ।’

ती बालबालिका आमा, मामा र हजुरआमासँगै बसिरहेका छन् । अभिभावकले नपढाउँदा ती बालबालिका ४–५ कक्षामा पढ्नुपर्ने उमेरमा विद्यालय कस्तो हुन्छ भन्ने नै थाहा नभएको बताउँछन् । बुबाले भाँडा बेचेर केही पैसा कमाउने गरेको भए पनि रक्सीको कुलतका कारण आफूहरुलाई छाडेर गएको उनीहरुले जानकारी दिए ।बालबालिकाका हजुरआमा पिरमालाले आफ्ना नाति नातिनीलाई पढाउने व्यक्ति वा संघसंस्था तयार भए पढाउने बताउनुभयो । नाति नातिनीलार्य पढाउन खोजेको भए पनि आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण पढाउन नसकेको उहाँले बताउनुभयो । ज्वाइँ रक्सी खाएर अहिले परिवारबाट सम्पर्कविहीन रहेको र छोरीले गाउँघर डुलेर भाँडा बेच्ने गरेको पिरमालाले जानकारी दिनुभयो ।

दिनभरी भाँडा बेचेर कमाएको पैसाले खानलाई नै ठिक्क हुने भएकाले बालबालिकालाई पढाउन नसकेको उहाँले गुनासो गर्नुभयो । घरबारविहीन भएकाले खेती, किसानी गर्न नसकिएको भन्दै अहिले गरिरहेको कामबाट सधैं एकनाश कमाई नहुने कारण हुने बेलामा खाने र नहुने बेलामा नखाने गरेको पिरमालाले बताउनुभयो । काम गर्न नसक्ने महिला तथा बालबालिकाले हेटौंडा बजार क्षेत्र आसपासमा सडकमा हिँड्ने बटुवासँग पैसा माग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

शिक्षाबाट बञ्चित १० वर्षका अजय र ९ वर्षका अर्विन ।

यो त सडक छेउको झुपडीमा बसेका एक प्रतिनिधि पात्रमात्र हुन् । यस्ता बालबालिका ग्रामीण तथा विकट क्षेत्रमा धेरै नै पाइन्छ । अभिभावकले पढाउन नसकेका कारण नै बालबालिका कुलतमा लाग्नुका साथै जोखिमपूर्ण काम गर्न बाध्य छन् । पढ्न पाउनु बालबालिकाको सर्वाङ्गीण विकासको अधिकार हो । शिक्षाले अन्धकारबाट उज्यालोतर्फ डोर्‍याउन अभिप्रेरित गर्छ ।

पढ्ने उमेरमा विद्यालय जान नपाएकै कारण कयौं बालबालिकाको भविष्य अन्धकार बनेको छ । बालबालिका स्वास्थ्य, शिक्षा तथा शारीरिक, मानसिक अवस्थामा कमजोर बनेका छन् । कमजोर आर्थिक अवस्थाका कारण बालबालिका शिक्षाबाट वञ्चित भएर सडकमा माग्दै हिँड्ने अवस्थाप्रति सम्बन्धित सरोकार निकायको ध्यानाकर्षण आवश्यक छ ।

Exit mobile version