Home मुख्य समाचार निषेधाज्ञामा पनि दैनिक २५० बढीको आँखा जाँच, प्रविधिको विकाससँगै बालबालिकाको आँखामा समस्या

निषेधाज्ञामा पनि दैनिक २५० बढीको आँखा जाँच, प्रविधिको विकाससँगै बालबालिकाको आँखामा समस्या

आँखा जाँच गर्न आएका मानिसहरु ।

हटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालमा दैनिक २ सय ५० भन्दा बढी आँखाका बिरामी आँखा जाँच गराउन आउने गरेका छन् । आइतबार पनि अस्पतालमा ३ सय ५६ जना आँखाका बिरामी आँखाको उपचार गर्न आएका छन् ।

गत आर्थिक वर्ष २०७७-०७८ मा ४० हजार जना आँखाको बिरामी उपचार गर्न आएको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा आउने बिरामीमध्ये सबैभन्दा बढी आँखा चिलाउने, जलविन्दु, मोतीविन्दुलगायतका समस्या भएको बिरामी आउने गरेको उहाँले बताउनुभयो ।

निषेधाज्ञा लागू भएपछि अस्पतालमा आउने बिरामीको संख्या घटेको छ । निषेधाज्ञा लागू नहुँदा दैनिक ३ सय ५० भन्दा बढी बिरामीहरु आउने गरेकोमा अहिले निषेधाज्ञाका कारण टाढाटाढाबाट आउने बिरामीलाई आउन समस्या हुने भएकाले बिरामीको संख्या घटेको हो । अहिले कोरानाको बेलामा सुरक्षाको मापदण्ड अपनाएर बिरामीमा भौतिक दुरी कायम गराई उपचार गर्नुपर्ने भएकाले बिरामीको उपचार गर्न बढी समय लाग्ने गरेको अस्पतालका व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।

हेटौंडा सामुदायिक आँखा अस्पतालमा हप्ताको ३ दिन मोतीविन्दुको अपरेशन गरिन्छ । हप्तामा मोतीविन्दुको अपरेशन गर्ने बिरामी ४० देखि ५० जना आउने गरेका छन् । हेटौंडा आँखा अस्पतालमा अस्पताल प्रमुखको रुपमा डा. सुनिल थकाली, जलविन्दु विशेषज्ञका रुपमा डा. कल्पना सिंह तथा डाक्टर होमबहादुर गुरुङले सेवा दिरहेका छन् । अस्पतालमा आर्थिक वर्ष २०७७-०७८ मा १६ जनाले आँखा दान गरेका छन् ।

अहिलेको समयमा आँखाको समस्या हुने बिरामीको संख्या बढ्दै गएको छ । आँखाको बिरामीको संख्या बढ्नुको कारण जनसंख्याको वृद्धि र मोबाइल कम्प्युटरजस्ता डिभाइसहरुको बढी प्रयोग गरिएकाले आँखामा समस्या देखिने र आँखासम्बन्धी बिरामीको संख्या बढेको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।

हेटौंडा–६, हात्तीलेटका ७८ वर्षीय खडानन्द सापकोटाले आँखामा समस्या भएका कारण हेटौंडा सामुदायिक आँखा अस्पतालमा उपचारका लागि आएको बताउनुभयो । आँखा दुख्ने, आँशु आउने, आँखा नदेख्ने समस्या भएर अस्पताल आउनुभएका सापकोटाको आँखा जाँच गरेपछि मोतीविन्दु पुष्टि भएको हो । सोमबार रगत परीक्षण गरी बुधबार मोतीविन्दुको शल्यक्रिया गरिने सापकोटाले बताउनुभयो ।

काभ्रेबाट आउनु भएका ७० वर्षीया चन्द्रकुमारी तिमल्सिना पनि आँखा चिलाउने, आँशु आउने समस्या भएर अस्पताल आएको बताउनुहुन्छ । समस्या देखिएको २–३ महिनापछि हेटौंडा सामुदायिक आँखा अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने सुनेर काभ्रेबाट उपचारका लागि हेटौंडा आएको उहाँले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनाकी ५१ वर्षीया सान्नानी सिलवाल आँखा दुख्ने, आँखा नदेख्ने समस्या भएर अस्पताल आएको र परीक्षणपछि डाक्टरले चस्मा लगाउनुपर्छ भन्नुभएको बताउनुहुन्छ । यस्तै, हेटौंडा–१६, चिसापानीकी कक्षा ७ मा पढ्ने १२ वर्षीया युनिसा दुलाल पनि आँखाको समस्याले अस्पताल आएको बताउनुहुन्छ । आँखा पोल्ने, दुख्ने समस्या भएर अस्पताल आउनुभएकी युनिसा डाक्टरले मोबाइल, कम्प्युटर बढी हेरेर आँखामा असर परेको भन्नुहुन्छ । ‘मोबाइल नहेरेर पनि भएन, अनलाइन कक्षा हुन्छ । नपढेर भएन, पढ्नै पर्छ । अब आँखामा समस्या भए पनि पढ्नै परेको’, दुलालले बताउनुभयो । अहिलेको अवस्थामा मोबाइल र विभिन्न इलेक्ट्रोनिक्स डिभाइसहरुको प्रयोगले नै आँखासम्बन्धी बिरामीको संख्या बढ्दै गएको डाक्टरहरुको भनाई छ ।

Exit mobile version