हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका वडा नं. ४ र ११ जोड्ने फलामे पुल (बेलिब्रिज) बन्दा स्थानीय हर्षित भएका छन् । गाउँपालिकाबाट कान्तिलोकपथ राजमार्ग जोडिने सडकखण्ड अन्तर्गत बान्द्रे खोलामा पुल बनेपछि स्थानीय खुसी भएका हुन् ।

काठमाडौं जान तथा हेटौंडा आउनका लागि प्रयोग हुँदै आएको उक्त सडकखण्डमा लामो समयदेखि पुल नबन्दा स्थानीयले सास्ती झेल्दै आएका थिए । अन्य समय खोलाबाट नै आवतजावत गरिने भएपनि बर्षायाममा खोलामा बाढी आएर बाटो नै बन्द हुने गरेको थियो । पुल बनेपछि भने स्थानीयका साथै गाउँपालिकाबाट ठिङ्गन हुँदै काठमाडौं जाने सुमोहरु निर्धक्क रुपले चल्ने भएका छन् । पुल निर्माणपछि गाउँपालिकाका वडा नं. ४ र ११ का साथै ३, ७, ९, १२ नं. वडा तथा मन्थली क्षेत्रका स्थानीय लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको ८० लाख रुपैयाँ र बागमती प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेटमा पुल निर्माण गरिएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभएको छ । आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रम तथा योजना अनुसार पुल निर्माण गरिएको उहाँले बताउनुभयो । ३० लाख रुपैयाँ बजेटमा पुलको फाउण्डेसनको काम उपभोक्ता समिति मार्फत गरिएको र फलामको पुल ल्याउनेदेखि जडान गर्ने कामको ठेक्का भने १ करोड रुपैयाँमा दिइएको पनि उपाध्यक्ष बोलखेले जानकारी दिनुभयो ।

बैशाखबाट पुल बनाउन सुरु गरिएको र असार मसान्तसम्म बनाईसक्नुपर्ने भएपनि वर्षाका कारण पुलको सामान आउन समय लागेपछि निर्माण सम्पन्न केही दिन ढिला भएको उहाँको भनाई छ । शुक्रबार साँझसम्ममा पुल निर्माण सकिएको छ भने उपयुक्त दिन हेरेर पुलको उद्घाटन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।