मनहरीः मकवानपुरको मनहरी गाउँपालिकामा पुस्तकालय स्थापना भएको छ । शनिबार एक कार्यक्रमका बीच मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरी सामुदायिक पुस्तकालयको उद्घाटन गर्नुभएको हो । पुस्तकालय अभियान समुह मकवानपुरले ५० हजार रुपैयाँ बराबरको १ सय ४९ थान पुस्तक सहयोग गरेसँगै मनहरीमा पुस्तकालय स्थापना भएको हो ।
मनहरी सामुदायिक पुस्तकालयका अध्यक्ष ईन्द्रमणि स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो । पुस्तकालय उद्घाटनपछि गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले पुस्तकालयका लागि गाउँपालिकाबाट ५० हजार रुपैयाँ उपलब्ध गराउने निश्चित भइसकेको जानकारी गराउनुहुँदै आवश्यक अन्य सहयोगका लागि प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पुस्तकालयलाई वडास्तरमा समेत स्थापना गर्दै लैजाने बताउनुभएको छ ।
पुस्तकालय उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मनहरी गाउँपालिकाका ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङले पुस्तकालय स्थापनाको कार्य उदाहरणीय भएको उल्लेख गर्नुहुँदै व्यक्तिगत र वडा कार्यालयको तर्फबाट सहयोग गर्ने बताउनुभयो । कार्यक्रममै उहाँले पुस्तकालयका लागि पुस्तक खरिद गर्न भनी ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । कार्यक्रममा पुस्तकालय अभियान समूहका सदस्य एवम् वरिष्ठ पत्रकार प्रताप विष्टले सचेत नागरिक निर्माण गर्न, सभ्य समाज निर्माण गर्न पुस्तकालयको आवश्यकता औँल्याउनुभयो । समाजमा अपराध न्यूनीकरण गर्न पनि पुस्तकालय उपयोगी हुने उहाँको भनाइ थियो ।
नेकपा माओवादीका नेता वनस्तम थिङले पुस्तकालय समुदायका लागि उपयोगी भएको बताउनुभयो । उहाँले पुस्तकालयको उपयोग बढाउँदै सचेत र सक्षम नागरिक तयार पार्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय रोटरी माविका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले पुस्तकालय स्थापना गर्ने लामो समयदेखिको प्रयास सफल भएको बताउनुभयो । मनहरी सामुदायिक पुस्तकालयका सल्लाहकार समेत रहनुभएका पौडेलले पुस्तकालयको उचित व्यवस्थापन र सञ्चालनमा आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारीले अभियान बारे जानकारी गराउनुभयो । समुदाायस्तरमा सञ्चालन तथा व्यवस्थापन गर्ने गरी पुस्तकालय स्थापना गरिएको जानकारी गराउनुहुँदै अभियानका सदस्य नरेन्द्र भण्डारीले पुस्तकालय नियमित सञ्चालन तथा व्यवस्थापनमा स्थानीय पालिकाले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । जिल्लाका दसवटै पालिकामा पुस्तकालय स्थापनापछि वडा वडा तहमा पुस्तकालय स्थापना गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा मनहरी सामुदायिक पुस्तकालयका अध्यक्ष ईन्द्रमणि स्याङ्तानले लामो समयदेखिको प्रयास सफल भएकोमा खुसी व्यक्त गर्दै पुस्तकालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्दै उपयोगिता पुष्टि गर्ने बताउनुभयो । पालिकाको सहयोगमा पुस्तकालयलाई व्यवस्थित बनाएर ज्ञान आर्जन गर्ने खुला विश्वविद्यालयको रुपमा विकसित गर्ने बताउनुभयो ।
मनहरी सामुदायिक पुस्तकालयलाई सामुदायिक विकास संस्था नेपालले पनि १० हजार रुपैयाँ बराबरको पुस्तक तथा १० थान कुर्सी सहयोग गरेको छ । पुस्तकालय उद्घाटनकै अवसरमा गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले व्यक्तिगत रुपमा एक बर्षका लागि कान्तिपुर दैनिक सहयोग गर्ने घोषणा गर्नुभएको छ भने पुस्तकालय अभियान समूहका सदस्य किरण अधिकारीले एउटा अंग्रेजी दैनिक पत्रिका एक बर्षका लागि सहयोग गर्ने बताउनुभएको छ । यस्तै रोटरी माविका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले पनि एक बर्षका लागि गोरखापत्र दैनिक उपलब्ध गराउने बताउनुभएको छ । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ, संस्थाका प्रतिनिधि, व्यवसायी, युवा, किशोरकिशोरीको सहभागिता रहेको थियो ।
मनहरी पुस्तकालयका लागि जनही ५ हजार रुपैयाँका दरले सहयोग गर्नेमा हेटौंडा–९, चौधघरेका भीमप्रसाद धिमाल, हेटौंडा–१८, दोभानचौरका सुजन काफ्ले, मनहरी–५ का मधु मिजार, कृष्ण लामिछाने, हेटौंडा–१५, गौरिटार (हाल अमेरिका) का सुवास दंगाल, मकवानपुरगढी–२, शिखरकटेरीका विक्रम चौरेल, मनहरी–७ का अनन्त बानियाँ, हेटौंडा–५, चिसापानीका अमीर चौलागाई, हेटौंडा–९ का शान्तराज ढुंगेल, हेटौंडा–६, हात्तिलेटका भुपेन्द्र चौलागाई हुनुहुन्छ ।
पुस्तकालय अभियान समूहले डेढ महिनाको अवधिमा ५ वटा पुस्तकालय स्थापनामा सहयोग गरेको छ । गत जेठ २९ गते हेटौंडा–७ मा समृद्ध पुस्तकालय स्थापनामा सहयोग गरेको पुस्तकालय अभियान समूहकै सहयोगमा हेटौंडा–६ मा शान्ति पुस्तकालय, बकैया गाउँपालिकामा बकैया सार्वजनिक पुस्तकालय, भीमफेदी गाउँपालिकामा ज्योति पुस्तकालय स्थापना भइसकेको छ ।