हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप्रा) का केन्द्रीय अध्यक्ष कमल थापाले जिल्ला कार्यसमिति मकवानपुर, क्षेत्रीय समिति तथा जनवर्गीय संगठनका अध्यक्षहरुसँग अन्तरक्रिया तथा छलफल गर्नुभएको छ । बुधबार हेटौंडा–५ पुष्पलाल पार्कस्थित राप्रपा पार्टी कार्यालयमा छलफल कार्यक्रम भएको हो ।
केन्द्रीय अध्यक्ष थापाको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाको सभाध्यक्षतामा जिल्ला कार्यसमिति, क्षेत्रीय समिति, जनवर्गीय संगठनका अध्यक्षहरुसँग भेटघाट तथा छलफल गरिएको जनाइएको छ । छलफलमा अध्यक्ष थापाले कांग्रेस तथा एमाले जोसुकैको सरकार आएता पनि अब परिवर्तन हामीले नै गर्नुपर्ने आवश्यक देखिएको र अबको बिकल्प राप्रपा नै भएको बताउनुभएको छ । संगठन सुदृढीकरण र सक्रिय सदस्यता वितरण अभियान र जनताको सुखदुःखमा साथै रहने कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउन उहाँले सबैलाई निर्देशन दिनुभएको छ ।
अध्यक्ष थापाले प्रत्येक वडावडामा गएर संगठन निर्माण गर्न तथा पार्टीलाई बलियो बनाउनतर्फ लाग्न पार्टी कार्यकर्ताहरुलाई समेत निर्देशन दिनुभएको छ । छलफल कार्यक्रममा केन्द्रीय सदस्य नवराज विष्टको समेत उपस्थिति रहेको थियो ।