मास्क वितरण गर्नुहुँदै हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी ।

हेटौंडाः जिल्ला प्रशासन कार्यालयको निर्देशनमा हेटौंडाका विभिन्न स्थानमा भइरहेको मास्क अभियानलाई वडा स्तरबाट पनि सुरु गरिएको छ । कोरोना संक्रमण हुनेको संख्या बढ्दै गएपछि हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले मास्क अभियान सुरु गरेको हो ।

बिहिबार हेटौंडा–९ को गुम्बाचोकबाट वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले अभियानको सुरुवात गर्नुभएको छ । अभियानको क्रममा हेटौंडा–९ बाट बजारतर्फ तथा बजारबाट वडा प्रवेश गर्नेहरुलाई केन्द्रित गरेर जनचेतनासहित मास्क अभियान सुरु गरिएको छ । मास्क नै नलगाई मोटरसाइकल, अटो तथा अन्य सवारीसाधनहरुमा यात्रा गर्ने व्यक्तिहरुलाई रोकेर मास्क लगाउन आग्रह गर्ने र मास्क नभएकाहरुलाई मास्क प्रदान गर्ने काम गरिएको थियो । मास्क अभियानको क्रममा बिहिबार बिहान ८ बजेदेखि ९ बजेसम्म १ घण्टाको समयमा ५ सय जनालाई मास्क वितरण गरिएको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

अभियानका क्रममा अधिकांश सर्वसाधारणसँग मास्क हुँदाहुँदै पनि गोजीमा राखेर नलगाई हिँड्ने गरेको, अटो चालकहरुले नै मास्कको प्रयोग नगरेको तथा यात्रुहरुले समेत मास्क नलाएको पाइएको उहाँले बताउनुभयो । अटो चालकहरुलाई सकेसम्म आफैंले प्रशस्त मास्क खरिद गरेर बिना मास्क कोही यात्रु अटो चढ्न आएमा अनिवार्य मास्क लगाउनका लागि प्रदान गर्न पनि आग्रह गरिएको समेत उहाँले जानकारी दिनुभएको छ ।

पछिल्लो दिनयता वडामा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको र ३ दिनमा २ जना वडावासीको मृत्यु भएको जानकारी दिनुहुँदै यस विषयमा कोहीपनि सजग भएको नपाइएको र अधिकांश मास्क समेत नलगाई हिँड्ने गरेको पाइएकोले सचेतनासहित मास्क अभियान सुरु गरिएको उहाँले बताउनुभयो । ४ दिनसम्म आयोजना गरिने मास्क अभियान कार्यक्रम सबैभन्दा धेरै आवतजावत र भिडभाड हुने स्थान हेरेर आयोजना गरिने वडा अध्यक्ष भण्डारीले बताउनुभयो । अभियानको दोस्रो दिन शुक्रबार मास्टर चोकमा, शनिबार धाप चोकमा र आइतबार चौधघरे चोकमा अभियान आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

मास्क अभियान कार्यक्रम टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–९, इलाका प्रहरी कार्यालय पशुपतिनगर, मानवसेवा आश्रम हेटौंडा, सियान पुनस्र्थापना केन्द्र मकवानपुर तथा पुष्पाञ्जली गस्ती आमा समुहको सहयोग तथा समन्वयमा भएको हो ।