हेटौंडाः मकवानपुरबाट निर्वाचित संघीय सांसद विरोध खतिवडा र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको पुत्ला जलाइएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली निकट मकवानपुरका मोर्चा संगठनहरुले सोमबार हेटौंडामा नेपाल र खतिवडाको पुत्ला जलाएका हुन् ।
सोमबार साँझ हेटौंडाको बुद्धचोकमा एमाले निकट मोर्चा संगठनहरुले संयुक्त रुपमा बिरोध प्रदर्शन गर्दै सांसद विरोध खतिवडालाई मकवानपुर जिल्लामा प्रवेश निषेध गरिएको घोषणा गरेका छन् । एमालेको भोटबाट जितेर संसदमा नेपाली कांग्रेसलाई भोट हालेर गद्दारी गरेको भन्दै खतिवडालाई मकवानपुर प्रवेश गर्न नदिने घोषणा गरेका हुन् । सांसद खतिवडाले मकवानपुरका जनताहरुले सूर्य चिन्हमा हालेको भोटलाई कांग्रेस सभापति देउवाको पाउमा चढाउने काम गरेको भन्दै उनलाई लाल गद्दार भएको समेत बताएका छन् ।
प्रदर्शनमा नेपाल–खतिवडाको फोटोसहितको पुत्लालाई चप्पलले हानेर जलाएपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । सोही क्रममा केही समय प्रहरीसँगको ठेलमठेलपछि प्रहरीले आगो निभाएको थियो । प्रदर्शनमा ‘नेकपा एमाले जिन्दावाद, माधव–विरोध मुर्दावाद, लाल गद्दार होसियार, गद्दार हरुलाई कारवाही गर’ लगायतका नारा लगाइएको थियो । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल खेलकुद महासंघ, राष्ट्रिय मुस्लिम संगठनलगायतका केन्द्रिय तथा जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।