प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे

हेटौंडाः मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कोभिड नियन्त्रण गर्न जनचेतना महत्वपूर्ण भएको बताउनुभएको छ । पारस्परिक जवाफदेहिताको लागि साझा सवाल कोभिड–१९ सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै प्रजिअ पाण्डेले आम नागरिकलाई मास्क लगाउन, सामाजिक दुरी कायम गर्न जनचेतना जगाउनुपर्ने बताउनुभयो । विज्ञहरुले कोभिडको तेस्रो लहर आउने बताइरहँदा जिल्लाबासी सतर्क र सुरक्षित रहनुपर्ने उहाँले बताउनुभयो । कोभिड उपचारभन्दा यसबाट बच्न गर्नुपर्ने सावधानी अपनाउन जनचेतना फैलाउन आवश्यक भएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ । यसका लागि आउँदो आइतबार छुट्टै छलफल हुने उहाँले बताउनुभयो ।

उहाँले कोभिडविरुद्धको खोप लक्षित उमेर समूहलाई मात्र आउने बताउनुहुँदै उनीहरुलाई लगाएर बाँकी भएको खोप आवश्यकताका आधारमा उच्च प्राथमकितामा परेकाहरुलाई लगाइने बताउनुभयो । ‘अहिले यातायातकर्मी, व्यवसायी, प्रेट्रोल पम्पमा कार्यरत कर्मचारी प्रमुख जोखिममा परेका छन्’, प्रजिअ पाण्डेले भन्नुभयो– ‘कोभिड जोखिम कायमै रहेपनि व्यवसायीको लागि निश्चित समय तोकेर आफ्नो व्यवसाय सञ्चालन गर्न दिइएकाले व्यवसायी जोखिममा रहेका हुन् ।’ जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोभिडको लहरमा समन्वय र सहजीकरणको भूमिका निर्वाह गरेकाले यस्तो समयमा सबै मिलेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । सबैले जनस्वास्थ्यको मापदण्ड पूरा गर्नुपर्ने उहाँको भनाई छ ।

नागरिक समाज मकवापनुरका अध्यक्ष तथा गैसस महासंघका उपाध्यक्ष रमिला सापकोटको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै हेटौंडा अस्पतालका कोभिड फोकलपर्सन डा. सागर काफ्लेले कोभिडको उपचारमा भन्दा पनि प्रिभेन्सनमा बढी ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कोभिडको उपचार गरेर थेग्नसक्ने स्थिति नहुँदा मास्क लगाउन र दुरी कायम गर्न बढी फोकस हुनुपर्ने बताउनुभयो । धेरैभन्दा धेरै व्यक्तिलाई भ्याक्सिन लगाउनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईंले हेटौंडा अस्पतालमा टेन्ट अस्पताल सञ्चालन गर्न खोजेको बताउनुभयो । कोभिड इमरजेन्सी बनाउन अमेरिकाबाट आएको विशेष टेन्टभित्र बेड, अक्सिजन, आईसीयू, बत्ती, स्वास्थ्यकर्मी हुने हुँदा सुरक्षित रहने बताउनुभयो । उहाँले छिट्टै बालबालिकाका लागि एनआईसीयू पनि सञ्चालनमा ल्याउने बताउनुभयो ।

कार्यक्रममा स्वास्थय कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले कोभिड खोपको पहिलो चरणमा धेरैले लगाउन रुचि नदेखाए पनि दोस्रो चरणमा आवश्यकता भन्दा बढी माग भएको बताउनुभयो । सबैले खोप लगाउन चाहँदा समस्या भएको बताउनुभयो । स्वास्थ्य कार्यालय मकवानपुरले स्थानीय तहलाई पठाएर फिर्ता भएको खोप जिल्ला खोप समन्वय समितिमार्फत् फ्रन्टलाइनमा रहेकालाई लगाउँदै आएको बताउनुभयो ।