बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार सानातिना कुरामा अल्झिन नहुने बताउनुभएको छ । मंगलबार मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ३ र ४ मा रहेको दुई झोलुङ्गे पुल उद्घाटन गर्नुहुँदै उहाँले सरकार विकासको काममा निरन्तर लागिररहेको बताउनुभयो । प्रदेश सरकारसँग स्पष्ट विकास गर्ने नीति भएको हुँदा विकासका कामहरु प्रदेशको गाउँगाउँमा विकास भइरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको नेतृत्व गरेको साढे ३ वर्षको अवधिमा ४५ औं पुलको रुपमा बकैयामा पुल उद्घाट गरेको जानकारी दिनुभयो । उहाँले गत वर्ष ३२ पुलको एकैसाथ उद्घाटन गरेको, त्यसपछि १० वटा, २ वटा पुलको उद्घाटन भएको बताउनुभयो । यही असार मसान्तसम्म निर्माण सम्पन्न भएका १२ पुलको उद्घाटन गर्न वर्षाले समस्या भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । केही समयपछि ती पुलहरुको पनि उद्घाटन हुने उहाँले उद्घोष गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले अहिले भइरहेको विकासको काम र विगतका ३० वर्षमा भएको विकासका काम दाँजेर हेर्न आग्रह गर्नुभयो । विगतका ३० वर्षमा हुन नसकेका कामहरु प्रदेश सरकारको विकास गर्ने मिसनका कारण भएको दाबी गर्नुभयो । जताततै सडक, पुल बनेको भन्दै यी बाहेक प्रदेशमा स्वास्थ्य र शिक्षालगायत सबै क्षेत्रमा विकास व्यापक भएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडामा डाक्टर उत्पादन गर्छ भनेर कसैले नसोचेको काम भएको बताउनुभयो । ४० वर्षदेखि बन्न नसकेको गौरीटार रंगशाला बनाउन ४० करोडमा टेन्डर भएको भन्दै अन्तर्राष्ट्रियस्तरको खेल खेलाउने उहाँले बताउनुभयो । मकवानपुरको स्वास्थ्य, शिक्षा, खेलकुदमा कायापलट भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । विकास नभएको भन्नेहरुलाई मुख्यमन्त्रीले विगत र प्रदेश सरकारको साढे ३ वर्षको काम दाँजेर हेर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री डोरमणि पौडेलले अहिले बेरोजगारलाई रोजगार दिन उत्पादनसँग सरकार जोडिनुपर्ने बताउनुभएको छ । सबै काममा जोडिन आवश्यक भएको उहाँले बताउनुभयो । पुल निर्माणपछि बकैया वडा नम्बर ४, ५ र ६ का बासिन्दाहरुलाई ठूलो राजमार्गसम्म आइपुग्न सहज भएको छ ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखेसहित स्थानीय राजतीतिकर्मी, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।