हेटौंडाः नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्म जयन्तीका दिनमा नवोदय साहित्यिक बगैंचा बालक्लबले विशेष कार्यक्रमका आयोजना गर्ने भएको छ । यही असार २९ गते भानु जयन्तीको अवसरमा विविध कार्यक्रम आयोजना गर्न लागिएको जानकारी क्लबकी अध्यक्ष अनुषा उप्रेतीले दिनुभयो ।

आदिकवि भानुभक्त आचार्यको जीवनकथामा आधारित नाटक प्रदर्शन, पोलिङ, वर्तमान अवस्थामा बालसाहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बहस, तीनपुस्ते साहित्यकारहरुको रचना वाचन, समालोचनात्मक दृष्टिकोणका साहित्यकार निमेष निखिलले प्रस्तुत गर्ने र विषयगत ५ वटा दिमाग ख्याउने प्रश्न सोधिने उहाँले बताउनुभयो ।

कार्यक्रममा वर्तमान अवस्थामा बालसाहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पत्रकारबाट सुरेश श्रेष्ठ, शिक्षकबाट दीपक गौतम, विद्यार्थीबाट धनगढीकी विभूति अधिकारी र बालसाहित्यकार यशु श्रेष्ठले बहस गर्नुहुनेछ । यसैगरी तीनपुस्ते साहित्यकार रचनावाचनमा मुना अर्याल, पुरुषोत्तम आचार्य र प्रशन्ना चौलागाईंले रचनावाचन गर्ने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

नेपाली भाषा र साहित्यको जगेर्ना गर्ने, साहित्यतर्फ आकर्षित गराउँदै रचनामार्फत् समाज सुधार गर्न, विभिन्न साहित्यकाहरुको स्मरण गर्दै सम्मान गर्न, नेतृत्व क्षमता तथा व्यक्तित्व विकास गराउँदै सिर्जनशील बन्न, तार्किक साथै काल्पनिक क्षमताको विकास गराउन, कुनै पनि काम गर्दा सञ्चार, सहकार्य, सिर्जनात्मक, समालोचनात्मकताको विकास गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको उप्रेतीको भनाई छ । गतवर्षदेखि नवोदय साहित्यिक बगैंचा बालक्लबले भानुजयन्ती विशेष कार्यक्रम गर्दै आइरहेको छ ।