हेटौंडाः बागमती प्रदेशअन्तर्गत् रहेको प्रदेश खेलकुद विकास परिषद्ले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि खेलकुदका योजनाहरु तयार पारेको छ । प्रदेश सरकारबाट खेलकुदका लागि १ प्रतिशतभन्दा पनि कम बजेट प्राप्त गरेको प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशका सबै क्षेत्रमा खेलकुदको विकास गर्ने योजना रहेको जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ल्याएको ५७ अर्ब ७२ करोड रुपैयाँको बजेटमा खेलकुदले भने प्राथमिकता पाउन सकेन । बजेट रकम निर्धारणपछि खेलकुदले सशर्त अनुदानसहित प्रदेशको कुल बजेटको बल्लतल्ल १ प्रतिशत बजेट पाएको छ । प्रदेशका १३ वटै जिल्लामा समग्र खेलकुदको विकास गर्नका लागि खेलकुद पूर्वाधार विकास, विभिन्न खेलकुदका प्रतियोगिता तथा अन्य कार्यक्रमहरु सञ्चालन गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सशर्त अनुदान २ करोड ६ लाख रुपैया“सहित ५९ करोड ७७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रदेशको खेलकुद विकासका लागि उक्त बजेट पर्याप्त नभएपनि सबै क्षेत्रलाई समेट्ने गरी योजना तयार पारिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । कोरोना महामारीका कारण गत वर्षहरुमा भन्दा निक्कै कम बजेट खेलकुद क्षेत्रलाई प्रदान गरिए पनि आवश्यक स्थानहरु मूल्याङ्कन गरेर बजेट योजना तयार पारिएको उहा“को भनाई छ । हरेक जिल्लामा आवश्यकताका आधारमा निश्चित बजेट प्रदान गरेर भएपनि धेरै योजनाहरु समेटिएको उहाँले बताउनुभयो ।

प्रदेश खेलकुद विकास परिषद्ले आगामी आर्थिक वर्षमा प्रदेशका १३ जिल्लामा खेलकुदको विकास गर्न तथा प्रदेशकै मातहतमा विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गर्न ९० वटा योजनाहरु तयार पारेको छ । जसमा सबैभन्दा ठूला योजनाको रुपमा वहुवर्षीय योजनाअन्तर्गत् २ वटा योजनाहरुलाई ८/८ करोड रुपैयाँ बजेट छुट्याइएको छ भने साना योजनाका रुपमा १० लाख रुपैयाँसम्मका योजनाहरु तयार पारिएका छन् ।

ठूला योजनाको रुपमा वहुवर्षीय कार्यक्रमअन्तर्गत् रहेका हेटौंडाको गौरीटार रंगशाला र सिन्धुपाल्चोकमा चौतारा रंगशाला निर्माणका लागि ८/८ करोड रुपैयाँ बजेट छुट्याइएको छ । यी दुई ठुला योजनासहित ३५ लाख रुपैयाँदेखि ८ करोड रुपैयाँसम्मको बजेट रहेका १४ वटा बहुवर्षीय योजनाहरुका लागि कुल ४२ करोड ६८ लाख रुपैयाँ बजेट छुट्याइएको छ । जसमा मकवानपुरका २ वटा योजना रहेका छन् भने रामेछापमा ३ वटा, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली र चितवनमा २/२ वटा तथा धादिङमा एउटा ठूला बहुवर्षीय योजना सम्पन्न गर्नका लागि बजेट विनियोजन भएको छ ।

मकवानपुरलाई साढे १० करोड
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशका १३ जिल्लामा खेलकुदका लागि विनियोजन गरेको ५९ करोड ७७ लाख रुपैयाँ बजेटमध्ये झण्डै साढे १० करोड रुपैयाँ बजेट मकवानपुरले प्राप्त गरेको छ । प्रदेश खेलकुद विकास परिषद्ले खेलदकुदका लागि प्राप्त बजेटको १७ दशमलब ४ प्रतिशत अर्थात् १० करोड ४२ लाख रुपैयाँ बजेट मकवानपुरको खेलकुदका योजनाहरुले प्राप्त गरेका हुन् ।

खेलकुद पूर्वाधार विकासअन्तर्गत् मकवानपुरमा ५ वटा योजनाहरुले प्रदेशको बजेट पाउन सफल भएको छ । जसले कुल १० करोड ३२ लाख रुपैयाँ बजेट प्राप्त गरेका छन् । बाँकी बजेट भने खेल प्रतियोगिता सञ्चालन तथा खेल सामग्री वितरणका लागि रहेका छन् । बहुवर्षीय योजनाको रुपमा रहेको हेटौंडा–६ स्थित गौरीटार रंगशालाले ८ करोड रुपैयाँ बजेट प्राप्त गर्दा थाहा नगरपालिका वडा नं. ३ मा निर्माण हुँदै गरेको कभर्ड हलका लागि १ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । हेटौंडा–५ मा पिप्ले युवा क्लबले निर्माण गरिरहेको क्याम्पा रंगशालाले ३० लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।

यस्तै, भीमफेदी गाउँपालिका वडा नं. ४ स्थित चिउरी बगैंचा मिनी रंगशाला र हेटौंडा–१८ मा रहेको कृष्ण माविको खेलमैदान निर्माण गर्नका लागि १५/१५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । प्रदेशका १३ वटै जिल्ला खेलकुद विकास समितिमार्फत् खेल सामग्री प्रदान गर्नका लागि परिषद्ले छुट्याएको कुल ३९ लाख रुपैयाँ बजेटबाट ३ लाख र जिल्ला खेलकुद विकास समितिको कार्यालय सञ्चालन तथा व्यवस्थापन अनुदानमार्फत् थप ३ लाख रुपैयाँ गरी ६ लाख रुपैयाँ बजेट मकवानपुर जिल्ला खेलकुद विकास समितिले प्राप्त गर्ने जनाइएको छ ।

यसैगरी, जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्नका लागि मकवानपुरले ४ लाख रुपैयाँ प्राप्त गरेको छ । सशर्त अनुदानतर्फ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्न १३ जिल्लाका लागि छुट्याइएको कुल ५५ लाख रुपैयाँ बजेटमध्ये पालिकाको हिसाबले मकवानपुरले ४ लाख रुपैयाँ प्राप्त गरेको सदस्यसचिव भण्डारीले बताउनुभयो । ७ वटासम्म पालिका भएको जिल्लाले ३ लाख रुपैयाँ, १० वटासम्म पालिका भएको जिल्लाले ४ लाख रुपैयाँ र १० वटाभन्दा धेरै पालिका भएको जिल्लाले ५ लाख रुपैयाँ प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रदेश आफैंले साढे ४ करोड बजेटको खेलकुदका कार्यक्रम गर्ने
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश आफैंले साढे ४ करोड रुपैयाँभन्दा बढी बजेट बराबरको खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । परिषद्ले सञ्चालन गर्ने विभिन्न कार्यक्रम तथा खेलकुदका प्रतियोगिताहरुका लागि सहयोगका लागि कुल ४ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ । जसमा खेलकुदका तालिमदेखि लिएर प्रदेश खेलकुद प्रतियोगितासम्म रहेका छन् ।

परिषद्ले आगामी आर्थिक वर्षमा प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने उद्देश्यका साथ २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै शहीद स्मृति राष्ट्रिय फुटबल लिग प्रतियोगिता र प्रदेश फुटबल लिग प्रतियोगिताका लागि भन्दै एन्फासँगको साझेदारी कार्यक्रमअन्तर्गत् दुबै प्रतियोगिताका लागि ५०/५० लाख रुपैयाँ बजेट निर्धारण गरिएको परिषद्का सदस्यसचिव भण्डारीले जानकारी दिनुभएको छ । परिषद्ले नै आयोजना गर्नेगरी साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न ३० लाख रुपैयाँ रकम छुट्याइएको उहाँले बताउनुभयो ।

यसबाहेक प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्नका लागि २६ लाख रुपैयाँ बजेट तय गरिएको छ भने खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम, रेफ्री तथा प्रशिक्षक तालिम सञ्चालन कार्यक्रम, खेलकुद विकासमा साझेदारी कार्यक्रम र प्रदेशस्तरीय खेल संघहरुका लागि प्रशिक्षण सामग्री खरिद गर्नका लागि समान २०/२० लाख रुपैयाँ गरी कुल ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

कार्यक्रमअन्तर्गत् नै अपाङ्गता भएका खेलाडीको प्रदेशस्तरीय पारा खेलकुद प्रतियोगिता सञ्चालन गर्न, उनीहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा तालिममा सहभागिता जनाउनका लागि १० लाख रुपैयाँ बजेट निश्चित गरिएको छ । यस्तै खेलाडी तथा खेल क्षेत्रमा विशेष योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गर्न तथा अल्ट्राम्याराथुन, क्यानोनिङ्ग, रकक्लाइम्बिङलगायतका खेलहरुको सम्भाव्यता अध्ययन गर्न १०/१० लाख गरी कुल २० लाख रुपैयाँ बजेट छुट्याइएको परिषद्ले जनाएको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । प्रदेश सरकारले खेलकुदका लागि छुट्याएको बजेटबाट नै धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ बजेट प्रदान गर्ने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव भण्डारीले जानकारी दिनुभयो । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ३ करोड बजेट छुट्याइएको उहाँले बताउनुभयो । विभिन्न व्यक्ति, संघसस्था तथा स्थानीय तहहरुबाट प्राप्त सहयोग रकमबाट निर्माण भइरहेको क्रिकेट रंगशालाका लागि प्रदेश सरकारले समेत आफ्नो दायित्व बहन गर्दै प्रदेश खेलकुद विकास परिषद्मार्फत् ३ करोड रुपैयाँ प्रदान गर्ने सदस्यसचिव भण्डारीको भनाई छ ।

प्रदेश सरकारले रंगशाला निर्माणका लागि चालु आर्थिक वर्षमा समेत ३ करोड रुपैयाँ बजेट छुट्याएर सो रकम प्रदान गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदै गरेको चितवन जिल्लाले उक्त ३ करोड रुपैयाँ, जिल्ला खेलकुद विकास समितिअन्तर्गत् २ वटा योजनाका ६ लाख रुपैयाँ, जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न ३ लाख रुपैयाँसहित कुल ६ करोड ७३ लाख बजेट प्राप्त गरेको छ । जसमा १ करोड ६९ लाख रुपैयाँ र १ करोड ३० लाख रुपैयाँ बजेटका २ वडा बहुवर्षीय योजना, ३ वटा विद्यालयका खेलमैदान निर्माण योजनासहित ११ वटा खेलकुदका योजनाहरु रहेका छन् ।

कुन जिल्लालाई कति बजेट
खेलकुदको पूर्वाधार निर्माण तथा खेलकुद प्रतियोगिता आयोजनाका लागि प्रदेश सरकारको खेलकुद बजेटबाट मकवानपुर जिल्लाले १० करोड ४२ लाख रुपैयाँ र चितवनले ६ करोड ७३ लाख बजेट प्राप्त गर्दा प्रदेशमा सबैभन्दा बढी बजेट सिन्धुपाल्चोक जिल्लाले प्राप्त गरेको छ । जिल्ला खेलकुद विकास समितिअन्तर्गत् २ वटा योजनाका ६ लाख रुपैयाँ, जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न ५ लाख रुपैयाँसहित सिन्धुपाल्चोेकको खेलकुदले कुल १३ करोड ५० लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । जसमा ८ करोड रुपैयाँ र ४ करोड ९ लाख रुपैयाँ बजेटका २ ठूला बहुवर्षीय योजना तथा ७ वटा विद्यालयका खेलमैदान निर्माण योजनासहित १४ वटा योजनाका लागि बजेट विनियोजन भएको छ ।

यसैगरी, रामेछाप जिल्लामा प्रदेश खेलकुद विकास परिषद्ले जिल्ला खेलकुद विकास समितिअन्तर्गत् २ वटा योजनाका ६ लाख रुपैयाँ, जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न ४ लाख रुपैयाँसहित कुल ७ करोड ६ लाख रुपैयाँ बजेट प्रदान गरेको छ । जसमा ३ करोड ८६ लाख रुपैयाँ र २ करोड रुपैयाँ बजेटका २ ठूला बहुवर्षीय योजना तथा ७ वटा विद्यालयका खेलमैदान निर्माण योजनासहित १३ वटा योजनाका लागि बजेट विनियोजन भएको छ ।

यसपछि सिन्धुली जिल्लाले ५ करोड ८९ लाख रुपैयाँ बजेट पाएको छ । २ ठूला बहुवर्षीय योजना समेटिएको सिन्धुलीमा खेलकुदका ६ वटा योजनाहरुकै लागि उक्त बजेट विनियोजन गरिएको परिषद्ले जनाएको छ । जसमा ३ करोड ६४ लाख रुपैयाँ र २ करोड रुपैयाँ बजेटका बहुवर्षीय योजना, जिल्ला खेलकुद विकास समितिअन्तर्गत् २ वटा योजनाका ६ लाख रुपैयाँ, जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न ४ लाख रुपैयाँ र एउटा विद्यालयको खेलमैदान निर्माण गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

बागमती प्रदेशको अर्को जिल्ला नुवाकोटले २ बहुवर्षीय योजनालाई अगाडि बढाउने योजनासहित साढे ४ करोड रुपैयाँ बजेट पाएको छ । जसमा २ करोड ६८ लाख रुपैयाँ र १ करोड ४१ लाख रुपैयाँ बजेटका दुई ठूला योजना, जिल्ला खेलकुद विकास समितिअन्तर्गत् २ वटा योजनाको ६ लाख रुपैयाँ, जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न ५ लाख रुपैयाँसहित ७ वटा खेलकुदका योजनाहरुका लागि कुल ४ करोड ५० लाख रुपैयाँ बजेट नुवाकोट जिल्लाले पाउनेछ ।

प्रदेशको उत्तरपश्चिममा रहेको धादिङ जिल्लामा १४ वटा खेलकुदका योजनाहरुलाई समेट्दै प्रदेश खेलकुद विकास परिषद्ले ३ करोड ३० लाख रुपैयाँ बजेट प्रदान गरेको छ । बहुवर्षीय योजनाका लागि १ करोड ९४ लाख रुपैयाँ, ६ वटा विद्यालयका खेलमैदान निर्माण गर्न ६५ लाख रुपैयाँ, जिल्ला खेलकुद विकास समितिअन्तर्गत् २ वटा योजनाको ६ लाख रुपैयाँ, जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न ५ लाख रुपैयाँसहित अन्य ४ योजनाका लागि १५ लाख रुपैयाँका दरले ६० लाख रुपैयाँ बजेट छुट्याइएको परिषद्ले जनाएको छ ।

संघीय राजधानीसमेत रहेको काठमाडौं जिल्लाले बागमती प्रदेशबाट खेलकुदका लागि १ करोड ११ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । जिल्ला खेलकुद विकास समितिअन्तर्गत् २ वटा योजनाको ६ लाख रुपैयाँ, जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न ५ लाख रुपैयाँसहित खेलकुदका ४ वटा योजनाहरुका लागि १० लाख रुपैयाँका दरले ४० लाख रुपैयाँ र ३ वटा योजनाहरुका लागि २० लाख रुपैयाँका दरले ६० लाख रुपैयाँ बजेट काठमाडौं जिल्लाको लागि छुट्याइएको छ ।

यसैगरी, जिल्ला खेलकुद विकास समितिअन्तर्गत् २ वटा योजनाको ६ लाख रुपैयाँ, जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न ५ लाख रुपैयाँसहित काभ्रेपलाञ्चोक जिल्लाले ६ वटा योजनाहरुका लागि ४६ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ भने काठमाडौं उपत्यकाभित्रकै ललितपुर जिल्लाका लागि जिल्ला खेलकुद विकास समितिअन्तर्गत् २ वटा योजनाको ६ लाख रुपैयाँ, जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न ३ लाख रुपैयाँसहित ६ वटा योजनाहरुका लागि ४४ लाख रुपैयाँ मात्र बजेट विनियोजन भएको जनाइएको छ ।

यस्तै, भक्तपुर जिल्लामा जिल्ला खेलकुद विकास समितिअन्तर्गत् ६ लाख रुपैयाँ, जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्न ३ लाख रुपैयाँसहित ५ वटा योजनाहरु र रसुवा जिल्लामा पनि ५ वटै योजनाहरुका लागि समान ३९/३९ लाख रुपैयाँ बजेट निर्धारण भएको प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार दोलखा, रसुवा, काभ्रेपलाञ्चोक तथा उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खेलकुदका बहुवर्षीय ठूला योजनाहरु छैनन् । जसकारण पनि यी जिल्लाहरुमा अन्य जिल्लामा भन्दा केही बजेट कम रहेको छ ।