हेटौंडाः कोभिड हेल्प डेस्क मकवानपुरले सञ्चालनमा ल्याएको पल्पसा आइसोलेसनलाई आयुर्वेदिक औषधी सहयोग गरिएको छ । आइसोलेसन सेन्टरमा उपचाररत कोभिड संक्रमितहरुका लागि शुक्रबार आयुर्वेदिक औषधी सहयोग गरिएको हो ।

जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रले आइसोलेसनलाई ४० बट्टा आयुर्वेदिक औषधी सहयोगस्वरुप उपलब्ध गराएको छ । हेटौंडा–२ स्थित पल्पसा सभागृह परिसरमा सञ्चालन गरिएको आइसोलेसन सेन्टरमा शुक्रबार ३ जना नयाँ संक्रमित भर्ना भएको आइसोलेसन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

आइसोलेसन सेन्टरबाट संक्रमणमुक्त हुनुभएका एक जनालाई शनिबार बिदाई गरिएको छ । मध्यमाञ्चल आयुर्वेदिक औषधालयका डाक्टर श्रृष्टि श्रेष्ठले संक्रमणमुक्त भएकालाई बिदाई गर्नुभएको हो । बिदाई कार्यक्रममा हेल्प डेस्कका सदस्य सरोज खनाल र मउवासंघका उपाध्यक्ष गणेश भेटवाल, हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललगायतको उपस्थिति थियो । शनिबार बेलुकासम्म आइसोलेसनमा १५ जना संक्रमितहरु उपचाररत रहेको संयोजक श्रेष्ठले बताउनुभयो ।