हेटौंडाः मकवानपुरको राक्सिराङको परेवाभिरको समस्या उस्तै रहेको छ । वर्खामा परेवाभिरबाट ज्यानकै बाजी लगाएर हिड्नुपर्ने बाध्यता रहेको छ । तलतिर खोला, माथि विशाल चट्टान चढ्दै आउँजाउँ गर्नुपर्छ । बिहीबार र शुक्रबार आएको वर्षाले परेवाभिरमा गाउँपालिकाले बनाउँदै आएको सडकमा बाढीले क्षति पुर्‍याएको छ । परेवाभिरबाट सडक संचालन गर्न सडक निर्माणको कार्य भइरहेको थियो ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ले सडकको काम छिट्टै सुरु गर्ने बताउनुभयो । वर्षा सकिएलगत्तै काम सुरु हुने उहाँले बताउनुभयो । अहिले भने बाढीको सतह बढ्दा मानिसहरु आवतजावतमा निक्कै समस्या परेको छ । कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान सोही बाटोबाट आउजाउ गरेको भिडियो र तस्बिर भाइरल बनेको छ । कैलाश गाउँपालिकामा पहिरोले बाटो बन्द गरेपछि उहाँ सहित अन्य ४ जना परेवाभिरको बाटो हुँदै आउनुभएको थियो ।

परेवाभिर बागमती प्रदेश सभामा निकै चर्चा पाएको विषय पनि हो । यसमा सडक निर्माण गर्न प्रदेश सरकारलाई राक्सिराङबाट प्रतिनिधित्व गर्ने सांसदहरुले आवज उठाउँदै आएका थिए । सांसदहरु ओम ग्लान, सन्त बहादुर चेपाङ लगायतले आवाज उठाउँदै आएपनि प्रदेश सरकारले सहयोग नगर्दा गाउँपालिकाको अग्रसरतामा परेवाभिरमा बाटो निर्माण अघि बढेको थियो ।