खेमराज सापकोटालाई पार्टीमा स्वागत गर्नुहुँदै नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ ।

हेटौंडाः नेकपा एमालेका ८ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्ने ८ जना मध्ये २ जना माधव नेपाल पक्षका छन् भने ६ जना केपी ओली पक्षका छन् । शुक्रबार कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको छ । कांग्रेस प्रवेश गर्ने ८ जना मध्ये खेमराज सापकोटा र कृष्णप्रसाद ढुंगाना मात्रै उपस्थित थिए भने अन्य ६ जनाको उपस्थित थिएनन् ।

३० बर्षभन्दा बढी समयदेखि बाम राजनीतिमा सक्रिय खेमराज सापकोटाको नेतृत्वमा कृष्णप्रसाद ढुंगाना, रामचन्द्र रेग्मी, रामजी घिमिरे, केशवप्रसाद सापकोटा, देवराज सापकोटा, तीर्थराज हुमागाई र निर्मल न्यौपाने कांग्रेस प्रवेश गरेका हुन् । पार्टी फुटको स्थितिमा रहेको, ओली समूहमा आवद्ध हुन नसकिने अवस्था रहेको र नेपाल पक्ष जिल्लामा कमजोर अवस्थामा रहेको विश्लेषण गरेर सामूहिक रुपमै पार्टी परिवर्तन गरेको सापकोटाको भनाइ छ । एमालेमा रहँदा जिम्मेवारी र अवसरका लागि नेताको चाकडी गर्नुपर्ने, पार्टीमा बढ्दो कलह र नेतृत्वले गर्ने अपमानका कारण पार्टी छाड्न बाध्य भएको सापकोटाले बताउनुभयो ।

नेकपा एमाले मकवानपुरका सदस्य तथा निर्वाचन कमिटीका सचिव खेमराज सापकोटा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अध्यक्ष रहनुभएको शहीद स्मारक विकास समितिको लेखा समितिको संयोेजक समेत हुनुहुन्छ । सापकोटा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको मन्त्री हुनुहुन्छ । यस्तै कांग्रेस प्रवेश गर्ने कृष्णप्रसाद ढुंगाना नेकपा एमालेको मकवानपुर जिल्ला कमिटी सदस्य हुनुहुन्छ भने रामचन्द्र रेग्मी युवा संघ नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । केशवप्रसाद सापकोटा युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको सचिवालय सदस्य हुनुहुन्थ्यो भने तीर्थराज हुमागाई अखिल किसान संघ मकवानपुर जिल्ला कमिटीको सदस्य हुनुहुन्थ्यो ।

शुक्रबार नेकपा एमालेका कार्यकर्तालाई पार्टीमा स्वागत गर्ने कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुली, हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको पनि उपस्थिति रहेको थियो ।