हेटौंडा–२ स्थित अञ्चल आयुर्वेद औषधालय ।

हेटौंडाः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरबाट चालु आर्थिक वर्षको ११ महिनासम्ममा साढे १० हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । चालु आर्थिक वर्षको सुरुवातदेखि जेठ मसान्तसम्ममा कुल १० हजार ८ सय २७ जना बिरामीले आयुर्वेद सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

स्वास्थ्य केन्द्रको बहिरंग सेवा (ओपीडी) मा यसवर्ष अम्लपित्त (गैस्ट्राइटिस), उदररोग, सन्धिवात, मधुमेह, वातरक्त, कटिशुल तथा अन्य दीर्घरोगहरुको उपचार गरिएको स्वास्थ्य केन्द्रकी डाक्टर सृष्टि श्रेष्ठले जानकारी दिनुभयो । यस्तै अन्य सेवाहरुको रुपमा फिजियोथेरापी, पूर्वकर्म–पञ्चकर्म, योग, क्षारसूत्र, ल्याव जाँच, जेष्ठ नागरिकहरूको लागि रसायन (रोग प्रतिरोधात्मक क्षमता बढाउने) औषधी वितरण, स्तनपायी आमाहरूका लागि दुग्धवद्र्धक औषधी वितरण गरिएको पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य केन्द्रले आइसोलेसन सेन्टरमा रहेका बिरामीहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण पनि गरेको छ । साथै आगामी आर्थिक वर्षबाट सशुल्क फार्मेसी सेवा सञ्चालन हुने जनाइएको छ । जसमा अत्यावश्यक २३ प्रकारका औषधीबाहेकका औषधीहरु सशुल्क वितरण गरिनेछ ।

स्वास्थ्य केन्द्रले यही असार ११ र १३ गते दुई चरणमा ‘स्थानीय जनप्रतिनिधिसमेतको सहभागितामा आयुर्वेद सेवा कार्यक्रमसम्बन्धी समन्वय र वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम’ गरेको छ । कोभिडको कारणले भिडभाड नगर्ने उद्देश्यले आयुर्वेद स्वास्थ्य संस्थाहरु रहेका स्थानीय तहका अध्यक्ष र वडाध्यक्षहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरेको हो ।

प्रथम चरणमा बागमती गाउँपालिका, बकैया गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १ देखि ११ सम्मका वडाध्यक्षहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सञ्चालन एवम् व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईं क्षेत्रीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा आधारभूत स्वास्थ्य सेवाअन्तर्गत् आयुर्वेद स्वास्थ्य सेवा प्रबाह र यसको व्यवस्थापन सम्बन्धमा उपस्थित स्थानीय जनप्रतिनिधिहरुलाई अबगत गराउने तथा योजना तर्जुमा कार्यक्रम सञ्चालन गर्ने कार्य गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो । यस्तै दोस्रो चरणमा थाहा नगरपालिकाका नगरप्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका वडा नम्वर १२ देखि १९ सम्मका वडाध्यक्षहरु, कैलाश गाउँपालिका र थाहा नगरपालिकास्थित नागरिक आरोग्य सेवा केन्द्रका प्रतिनिधि तथा काँकडा आयुर्वेद औषधालय, हटिया आयुर्वेद औषधालय, चुरियामाई आयुर्वेद औषधालयका प्रमुख तथा हेटौंडा उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुखको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरप्रमुख विष्टले नगरपालिकाको सहायतामा फार्मेसी सेवा सञ्चालन गर्ने तथा १५ शैयाको आयुर्वेद अस्पताल सञ्चालन गर्ने बताउनुभएको छ । यसका लागि आवश्यक बजेट बिनियोजन गर्नेसमेत उहाँले जानकारी दिनुभयो । साथै थाहा नगरमा घुम्ती शिविर सञ्चालन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । कार्यक्रममा बागमती गाउँपालिका र बकैया गाउँपालिकास्थित नागरिक आरोग्य सेवा केन्द्रसमेतको सहभागिता रहेको थियो ।