हेटौंडाः कोभिडका कारण मकवानपुर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र शहीद स्मारक सुनसान बनेको छ । हेटौंडा ११ मा रहेको आन्तरिक पर्यटकका लागि निकै आकर्षक पर्यटकीय स्थल शहीद स्मारकलाई कोभिड–१९ का कारण भएका लकडाउन तथा निषेधाज्ञाले आर्थिकरुपमा पनि नकारात्मक असर पारेको छ ।

हेटौंडा बजारबाट करिब ५ किलोमिटर पश्चिममा रहेको शहीद स्मारकमा गत वर्ष गरिएको लकडाउनका समयमा पर्यटक उपस्थिति शून्यप्रायः रहेको थियो । लकडाउन अन्त्य भएपछि पनि कोरोना भाइरस संक्रमणको जोखिम पूर्णरुपमा अन्त्य नभएका कारण पर्यटकको उपस्थिति उल्लेख्य हुन सकेको थिएन । झन् गत बैशाख २० गतेबाट लगाइएको निषेधाज्ञापछि पुनः स्मारकमा पर्यटक उपस्थिति ठप्प हुँदा यसले आम्दानी पनि गुमाएको छ ।

शहीद स्मारकमा वर्षमा ५ लाख जनासम्म आन्तरिक पर्यटक घुम्न आउने गरेका थिए । स्मारकको प्रवेश शुल्कबाटै विभिन्न निकायलाई कर बुझाएर सञ्चालन खर्च धानिरहेको शहीद स्मारकका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताउनुभयो । कोभिड १९ का कारण पर्यटकको आगमन न्यून भएर आम्दानी घटेका कारण चालु आर्थिक वर्षमा शहीद स्मारकले सञ्चालन खर्च पनि धान्न नसक्ने अवस्थामा पुगको उहाँले जानकारी दिनुभयो ।

’कोरोनाका कारण भने शहीद स्मारक विकास समितिले आर्थिकरुपमा घाटा ब्होर्नुपरेको छ’, कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो– ‘करिब ३५ जना कर्मचारीलाई तलब दिनै समस्या भइरहेको छ ।’ आन्तरिक आम्दानीबाट सञ्चालन खर्च गरेर बाँकी रकमबाट स्मारक क्षेत्रमा विकास निर्माणका कार्यलाई पनि अगाडि बढाउँदै लगेको भए पनि कोभिडका कारण समस्या भइरहेको उहाँले बताउनुभयो ।

राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने शहीदहरुको प्रतीकस्वरुप १२ जना शहीदको आकृति २५ टनको एउटै शिलामा कुँदेर जनस्तरबाट स्थापना गरिएको शहीद स्मारक देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । आकर्षक पार्क तथा पर्यटकीय सूचना केन्द्र, शहीद ग्यालरी, उद्यान, शहीद स्मृति स्तम्भ, नमूना चिडियाघर, मदनबाटिका, बालउद्यान, पौडीपोखरी, पानी फोहरा, झोलुङ्गेपुलले स्मारकमा पर्यटकहरुलाई आकर्षित गराइरहेको छ ।

स्मारकमा नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रमुख चार योद्धाहरु (पुष्पलाल श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह श्रेष्ठ र मनमोहन अधिकारी) को पूर्णकदको शालिकसहितको उद्यानले यसको गरिमा बढाएको छ । कोरोेनाका कारण पर्यटकीय स्थलहरु बन्द हुँदा शहीद स्मारकलगायत अन्य पर्यटकीय क्षेत्रमा पर्यटक आवागमन नहुँदा पर्यटन व्यवसाय प्रभावित बनिरहेको छ ।