रुपा गुरुङ

बागमतीः मकवानपुरको बागमती गाउँपालिकाकी ठुलीमाया जिम्बालाई नेपाली भाषा बोल्न खासै आउँदैन । बरु मातृभाषा (तामाङ भाषा) बोल्न चाहिँ उनलाई सजिलो छ । भन्छिन्, ‘नेपाली पनि बुझ्न त बुझ्छु तर फर्काउन आउँदैन ।’ ५५ वर्षीया ठुलीमायाको घरका अन्य सदस्यलाई पनि उनी आफ्नो भाषा बोल्न नछाड्न अह्राउँछिन् ।

खेतीपाती र घाँस–दाउरा गर्दै जीवनको यो मोडसम्म आईपुगेकी ठुलीमायालाई नेपाली भाषा नजानेकोमा गुनासो भने छैन । गाउँघर, छरछिमेकमा प्रायः तामाङ बस्ती भएकाले पनि अरु भाषा बोल्न उनलाई त्यति आवश्यक पर्दैन । उक्त क्षेत्रमा सानादेखि ठुला सबैले मातृभाषा नै बोल्छन् । घरपरिवारको पहिलो भाषाका रुपमा मातृभाषा बोलिने भएकाले यहाँका प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरुलाई सुरुमा नेपाली भाषा बोल्न र लेख्न भने केहि समस्या हुने गरेको पाइएको छ । कक्षा ८ सम्म पढाइ हुने वागमती गाउँपालिकाकै वडा नम्बर ३, गढनमा रहेको ज्ञानमन्दिर आधारभूत विद्यालयकी शिक्षिका सुशीला पाख्रिनको भनाई छ, ‘यहाँ पढ्न र सिक्न आएका केहि नानीबाबुलाई मातृभाषामै यो गर, त्यो गर भनेर सिकाउनुपर्ने अवस्था छ, कतिपयले नेपाली भाषा सिक्न समय लाग्ने भएकाले परीक्षामा राम्रो गर्न सकिरहेका हुँदैनन् ।’

२०६८ सालको जनगणनाअनुसार बागमती गाउँपालिकाको जनसंख्या ३० हजार ४ सय ९५ रहेको छ । त्यसमध्ये १८ हजार ४ सय ५० जना तामाङ जातिको बसोबास छ । वि.सं. २०७४ सालको सर्भेक्षणले ३९ हजार ७ सय ७९ कुल जनसंख्यामा २१ हजार ४ सय २ अर्थात ५३.८ प्रतिशत तामाङ जातिको आवादी देखाएको गाउँपालिकाले जनाएको छ । स्थानीय सरकार आएपछि यस क्षेत्रमा यातायात, विद्युत र खानेपानीका केहि योजनाहरु सम्पन्न भए पनि सबै क्षेत्रमा पहुँच पुग्नमा समस्या छ । गाउँपालिकाका अध्यक्ष सर्केश घलान भन्छन्, ‘यहाँको भौगोलिक विकटताका कारण सुचना सञ्चार पुग्न समस्या छ, गाउँपालिकाका सबै क्षेत्रमा यातायात, विद्युत, खानेपानी, विद्यालयजस्ता आधारभूत कुराहरु पुगेको छैन । यी समस्याले तामाङ समुदायलाई पनि हरेक क्षेत्रमा पहुँच पु¥याउन समस्या छ ।’

घलानले यस समुदायलाई विशेषतः कृषिमै आत्मनिर्भर बनाउनुपर्नेमा जोडका दिएका छन् । त्यसै बमोजिम गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘कृषिमा रुपान्तरण गरी निर्वाहमुखीबाट व्यवसायीकरण’ भन्ने नाराका साथ कृषिलाई आधुनिकीकरण गर्ने कार्यक्रम तर्जुमा गरेको छ । उन्नत जातका गाईभैसी पालनबाट दुध र दुग्धजन्य पदार्थ उत्पादन गर्न सहकारीमार्फत ४० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । प्राविधिक शिक्षालय सञ्चालन गरी कृषि तथा पशु प्राविधिक उत्पादन गर्ने थलोको रुपमा गाउँपालिकालाई विकास गर्ने जनाएको छ । यसै गरी वडा नम्बर ९ लाई कफी पकेट क्षेत्रको रुपमा विस्तार गरिरहेको पनि गाउँपालिकाले जनाएको छ ।

मकवानपुरकै अर्को कैलाश गाउँपालिकामा ६७ प्रतिशत तामाङ समुदायको बसोबास रहेको छ । कैलाशमा दोस्रो ठुलो भाषाका रुपमा रहेको नेपाली बोल्ने १६.१६ प्रतिशत रहेका छन् । गाउँपालिकामा शिक्षा र स्वास्थ्यमा कमजोर छ । आयआर्जनको रुपमा यहाँका समुदाय पनि कृषि पेशामै निर्भर छन् । बाहुल्यका हिसाबले तामाङ जातिकै उत्थान भनेरै विकास बजेटहरु नरहे पनि समग्र क्षेत्रलाई समेटेर विकास आयोजनाहरु भैरहेको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताए । उनका अनुसार आर्थिक वर्ष २०७७÷२०७८ को नीति तथा कार्यक्रममा ‘माटो सुहाउँदो’ खेती प्रणाली अबलम्बन गरी कृषि क्षेत्रबाट आर्थिक विकास हासिल गर्ने गाउँपालिकाको लक्ष्य छ ।

एक वडा एक नमुना व्यावसायिक तरकारी, पशुपालन तथा फलफूल खेतीको अवधारणालाई सफल पार्न कैलाश १ नम्बर वडामा पशुपालन र तरकारी खेती, २ मा दाँतेओखर, स्याउ, जुनार, अलैंची, लप्सी, ३ मा अदुवा खेती र बाख्रापालन, कैलाश–४ मा सुन्तला, अदुवा, बाख्रापालन, कागती खेतीलाई प्राथमिकता दिइएको छ । यस्तै वडा नम्बर ५ मा किवि, अम्रिसो, अलैंची, ६ मा दाँतेओखर, कीवि, चिया, कैलाश–७ मा मौरीपालन, बाख्रापालन, तरकारी, कैलाश–८ मा तरकारी, बाख्रापालन र चिउरीखेती, कैलाश–९ मा गाईभैंसी पालन, बाख्रापालन र कैलाश–१० मा पनि बाख्रापालन, गाईभैंसी पालन, जुनार खेती लगायतका कृषि क्षेत्रमा विशेष प्राथमिकताका साथ बजेट बिनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताए । कृषि क्षेत्रको विकासबाटै यहाँका तामाङ समुदाय पनि लाभान्वित हुने उनको ठम्याइ छ ।

बागमती प्रदेशमा तामाङको बसोबास क्षेत्र
वि.सं. २०६८ सालको जनगणनाअनुसार बागमती प्रदेशमा तामाङ जातिको कुल जनसंख्या २०.४२ प्रतिशत रहेको पाईन्छ । विशेषतः काठमाडौंसहित मकवानपुर, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, चितवन र सिन्धुपाल्चोकमा तामाङ जातिको आवादी रहेको छ । मकवानपुरमा १८ हजार ४ सय २३ (६०.२३ प्रतिशत), चितवनमा १७ हजार ८ सय ६२ (६.२६ प्रतिशत), धादिङमा ७४ हजार २ सय ३९, सिन्धुपाल्चोकमा ९८ हजार ५ सय ७० (३४.२५ प्रतिशत), नुवाकोटमा १० हजार ५ सय ८५, सिन्धुलीमा ७९ हजार ५ सय ९० (२९.०५ प्रतिशत), रामेछापमा १९.२ प्रतिशत, दोलखामा १८.८ प्रतिशत, रसुवामा ६८.७८ प्रतिशत, काभ्रेमा १ लाख २९ हजार ९ सय १३ (३४.०१) प्रतिशत तामाङ समुदायको बसोबास भएको केन्द्रिय विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । काठमाडौंमा ११, भक्तपुरमा १४.२ र ललितपुरमा १३.१ प्रतिशत तामाङ छन् ।

यस प्रदेशमा १८ प्रतिशत तामाङले मातृभाषा बोल्ने गरेको नेपाल तामाङ घेदुङ बागमती प्रदेशले जनाएको छ । आदीबासी जनजातिका हिसाबले प्रदेशकै पहिलो भाषाका रुपमा तामाङ भाषा रहेको घेदुङले जानकारी दिएको छ । यसैगरी प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लामा पहिलो भाषाका रुपमा तामाङ भाषा प्रयोग भएको जनाएको छ । काठमाडौं, भक्तपुर, ललितपुर र चितवनलाई छाडेर अन्य ९ जिल्लामा पहिलो भाषाका रुपमा तामाङ भाषा बोलिने गरेको घेदुङ बागमती प्रदेशका अध्यक्ष लीलाकुमार घलानले जानकारी दिए ।

तामाङ समुदायका चुनौती
नेपालमा भाषा र संस्कृतिमा सम्पन्न भएको जाति मध्ये तामाङ समुदाय पनि एक हो । यो जातिसँग अथाह पुख्र्यौली विरासत छन् । यी समुदायसँग जाति, भाषा, भूगोल, इतिहास र संस्कृतिको निरन्तरता छ । लाबोन, ताम्बा, गान्बा, चोहो, बोन्बो, लामा गरी ६ वटा परम्परागत संस्था यी समुदायसँग छ भने ९ वटा पुख्र्यौली सम्पदा छन् । तर यी सम्पदा र आख्यानहरुको जगेर्ना गर्नमा पर्याप्त चासो र चिन्ता नहुँदा भविष्यमा नयाँ पिढीले आफ्नो भाषा, संस्कार र संस्कृति बिर्सने खतरा रहेको भाषाविद् अमृत योञ्जन बताउँछन् ।

कतिपय अवस्थामा अन्तरजातीय विवाहका कारण पनि भाषा लोप हुने खतरा बढाएको छ । अन्तरजातीय विवाह गर्ने दम्पतीबाट जन्मिएका बालबालिकामा मातृभाषाको समस्या देखिने गरेको छ । त्यस्तो परिवारमा भाषिक सहजताका लागि नेपाली भाषाकै प्रयोग बढि भएको पाईन्छ । भाषाविद् योञ्जनले तामाङ पुख्र्यौली सम्पदा, इतिहास, संस्कृतिको संरक्षण, सम्बद्र्धन र जगेर्ना गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

तामाङ समुदायको विकास
तामाङ समुदाय र उनीहरुका भाषा, संस्कृतिको विकासका लागि भनेरै बागमती प्रदेशका ३२ वटा पालिकामा मातृभाषामा अध्ययन हुने भएको छ । १३ जिल्लाका ३२ स्थानीय पालिकाले आफ्ना नीति तथा कार्यक्रममा “भाषा नीति तथा मातृभाषा शिक्षा” पारित गरी बजेट बिनियोजन गर्ने तयारी गरेका छन् । नेपाल तामाङ घेदुङले तामाङ भाषाका चार वटा भाषिक क्लस्टर छुट्याएर त्यसैअनुरुप पाठ्यपुस्तक निर्माण गरिरहेको छ । त्रिशुलीपारि रसुवा, नुवाकोट र धादिङ क्लस्टर, त्रिशुलीवारि नुवाकोट, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक क्लस्टर, काभ्रेको तेलाम तथा ललितपुर, सिन्धुपाल्चोक क्लस्टर र पूर्वी क्लस्टरअन्र्तगत मकवानपुर, दोलखा, रामेछाप लगायत जिल्ला रहेका छन् ।

तामाङ भाषा लेखनमा देवनागरी र तामयिग लिपि प्रयोग गरिँदै आएको छ । यसअघि शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि ५ सम्म तामाङ भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक देवनागरी लिपिका माध्यमबाट पठनपाठन गरिँदै आएको थियो । घेदुङले यो पटक तामयिग लिपिको माध्यमबाट पाठ्यपुस्तक निर्माण तयार गरेको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतमका अनुसार स्थानीय भाषाअन्तर्गत मातृभाषा पढाउन तीन आर्थिक वर्षदेखि बजेट छुटाइँदै आएको छ । उनले घेदुङबाट पाठ्यपुस्तक प्राप्त भएलगतै केहि विद्यालयमा पठनपाठन सुरु गर्ने तयारी रहे पनि कोरोना महामारीले यो योजना रोकिएको बताए । स्थानीय भाषाको विकास र सम्बर्दन गर्न तामाङ समुदायका लागि के गर्ने त ? घेदुङका बागमती प्रदेश अध्यक्ष घलानको विचारमा यसका लागि अध्ययन अनुसन्धानमा जोड दिने, भाषिक विद्यालयहरु स्थापना गरी अध्ययनको वातावरण सिर्जना गर्ने, निजामती क्षेत्रमा उनीहरुको सहभागिता उल्लेख्य गराउने, विभिन्न संघसंस्थाहरुमा आवद्धता र क्षमता बढाउने लगायतका उपायबाट यस समुदायको विकास गर्न सकिन्छ ।