Home मुख्य समाचार प्रमुख जिल्ला अधिकारी मार्फत बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र

प्रमुख जिल्ला अधिकारी मार्फत बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र

ज्ञापनपत्र बुझ्दै प्रजिम भरतमणि पाण्डे

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेललाई प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत पत्रकार महासंघ मकवानपुर शाखाले ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेश सरकारले आफैंले सञ्चारमाध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति पत्रकार महासंघ मकवानपुर शाखाले गम्भीर आपत्ति समेत जनाएको छ । महासंघको अध्यक्ष मणिराज गौतमले आइतबार प्रजिअ मार्फत मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

‘देशभर दर्ता भएका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चारमाध्यममध्ये ६६ प्रतिशत बागमती प्रदेशभित्र रहेको छ । नेपाल पत्रकार महासंघको कुल सदस्य संख्याको ४८ प्रतिशत बागमती प्रदेशभित्र छन् । अन्य प्रदेश सरकारले आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि समेत बजेट विनियोजन गरेको छ । तर ठिक त्यसको विपरित बागमती प्रदेश सरकारले प्रदेश सरकारको नियन्त्रणमा रहने गरी आम सञ्चारमाध्यम स्थापना र सञ्चालन गर्न दश करोड विनियोजन गरेको छ । एकातर्फ जनताको सेवामा समर्पित हुनुपर्नेमा आफैं सञ्चार गृह खोल्नेतिर लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेको देखिन्छ । प्रदेशभित्रको सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको पेशागत सुरक्षा, क्षमता विकासको लागि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा सम्बोधन गराउन पटक पटक प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थियौं । तर महासंघसँगै सिङ्गो सञ्चार क्षेत्रले उठाएका विषयहरु सम्बोधन नगरी स्वतन्त्र प्रेस, लोकतन्त्रको मुल्य मान्यता बिपरित प्रदेश सरकार आफैले आम सञ्चारगृह स्थापना गर्ने गरी बजेट ल्याएकोप्रति महासंघ मकवानपुर शाखाले आपत्ति जनाएको हो ।

पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमले प्रजिअलाई बुझाउनुभएको ज्ञापनपत्रमा भनिएको छ, ‘संघीय सरकार मातहत रहेका सञ्चारमाध्यम समेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा बागमती प्रदेश सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र पे्रेसलाई निरंकुशताको कडी लगाउन खोजको प्रष्ट भएकोे छ । यो सन्दर्भमा सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गर्दै सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग गर्दछौं । उक्त निर्णय फिर्ता नभए महासंघ हामी आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।’

Exit mobile version