आइसोलेसन सेन्टरलाई पुस्तक हस्तान्तरण गरिँदै ।

हेटौंडाः मकवानपुर जिल्लाका निजीक्षेत्रको सक्रियतामा सञ्चालित पल्पसा आइसोलेसन सेन्टरलाई पुस्तक सहयोग गरिएको छ । कोभिड–१९ संक्रमित भई चिकित्सकको निगरानीमा आइसोलेसन सेन्टरमा बस्दै आएका संक्रमितलाई अध्ययन गर्न पुस्तक सहयोग गरिएको हो ।

आइसोलेसन सेन्टरलाई हस्तान्तरण गरिएका पुस्तकहरु ।

पुस्तकालय अभियान समूह मकवानपुरको समन्वयमा सचेत नागरिक युवा समूह मकवानपुरले ६ हजार रुपैयाँ बराबरको १९ थान पुस्तक शनिबार आइसोेलेसन सेन्टरलाई हस्तान्तरण गरिएको हो । सचेत नागरिक युवा समूह मकवानपुरका अध्यक्ष शिव नारायण श्रेष्ठले पल्पसा आइसोलेसन सेन्टरका संयोेजक कृष्ण कटुवाललाई पुस्तक हस्तान्तरण गर्नुभएको हो । समुदायको सक्रियतामा सञ्चालन तथा व्यवस्थापन गर्ने गरी पुस्तकालय अभियान समूह मकवानपुरले पुस्तकालय स्थापना गरिरहेको छ । जेठ २९ गते हेटौंडा–७, नागस्वतीमा समृद्ध पुस्तकालय स्थापना गरेको पुस्तकालय अभियान समूहले छिट्टै हेटौंडा–६ मा पनि पुस्तकालय स्थापना गर्दैछ ।

पुस्तक हस्तान्तरण गर्नुहुँदै सचेत नागरिक युवा समूहका अध्यक्ष शिव नारायण श्रेष्ठले आइसोलेसनमा बस्नुपर्ने समयमा अध्ययन गरेर ज्ञान आर्जनको अवसर रहोस् भनेर पुस्तक सहयोग गरिएको बताउनुभयो । सहयोग स्वरुप पुस्तक प्राप्त भएकोमा खुसी व्यक्त गर्नुहुँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनुभएका आइसोलेसन सेन्टरका संयोजक कृष्ण कटुवालले संघको सचिवालयमा आकर्षक पुस्तकालय समेत निर्माण गर्ने बताउनुभएको छ ।