एजेन्सी – कोपा अमेरिका कपको समूह चरणको पहिलो खेलमा लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले चिलीको सामना गर्दैछ । खेल रियो दि जेनेरियोमा नेपाली समयअनुसार मंगलबार बिहान २ः४५ बजेपछि सुरु हुनेछ ।
अर्जेन्टिना चिलीलाई हराउँदै समूह चरणमा सुखद सुरुवात गर्न चाहन्छ । टोलीसँग कप्तान लियोनेल मेस्सीसँगै एन्जल डि मारिया, लोउटारो मार्टिनेज, ड्यानियल पारेडेस, जियोभानी लो सेल्सो, रोड्रिगो डि पउल, मार्काेस एकुना, निकोलस ओटामेन्डी, क्रिस्टियन रोमेरो, गोन्जालो मोन्टिएल र गोलरक्षक इमिलियानो मार्टिनेज रहेका छन् ।
यस्तै सर्जियो अगुएरो, जुआन फोएथ, एन्जल कोरेआ, जोआक्विन कोरेआ र निकोलस ट्याग्लियाफिको पनि टोलीमा रहेका छन् । पछिल्लो दुई खेलमा जित निकाल्न नसकेको अर्जेन्टिना जितको लयमा फकन चहान्छ । अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गतको खेलमा चिली र कोलम्वियाविरुद्धको खेलमा सुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा बराबरी खेलेको थियो ।
यता, चिली पनि अर्जेन्टिनालाई हराउँदै समूह चरणबाट अघि बढ्न चहान्छ । टोलीसँग एलेक्सिस साञ्चेज, इडुआर्डाे भार्गास, आर्टुरो भिडाल, गुइलेर्माे मारिपान, गारी मेडेल, मौरिसियो इस्ला र गोलरक्षक क्लाउडियो ब्राभो रहेका छन् ।
चिलीले पनि पछिल्लो दुई खेलमा जित निकाल्न सकेको छैन । अर्जेन्टिनासँग बराबरीमा रोकिएको चिलीले बोलिभियासँग पनि १–१ गोलको बराबरी खेलेको थियो । अर्जेन्टिना र चिली दुई साताको अन्तरमा दोस्रोपटक भिड्न लागेका हुन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा यि दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
पछिल्लो १० खेलको नतिजामा चिलीले अर्जेन्टिनालाई पराजित गर्न सकेको छैन । यसबीचमा अर्जेन्टिना ६ खेलमा विजयी हुदा ४ खेल बराबरीमा सकिएको छ । यही १० खेल अन्तरगत सन् २०१६ को कोपा अमेरिका कपको फाइनलमा चिलीले पेनाल्टी सुटआउटमा ४–२ को जित निकालेको थियो ।