एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत सोमबार भएको समूह चरणको खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २–० गोलले पराजित गरेको छ । ह्याम्प्डेन पार्क ग्लास्गोमा सोमबार भएको खेलमा चेक रिपब्लिकको जितमा प्याट्रिक सिकले दुई गोल गरे ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले खेलको सुरुवातदेखि नै आक्रमक फुटबल खेलेका थिए । ४२औं मिनेटमा प्याट्रिक सिकले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाए । कर्नरबाट आएको बललाई स्कट म्याकटोमिनेले ब्लक गरेपनि भ्लादिमिर कोउफलले गरेको क्रसलाई प्याट्रिकले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

५२औं मिनेटमा प्याट्रिकले दर्शनीय दोस्रो गोल गर्दै चेक रिपब्लिकको अग्रता दोब्बर पारे । थोमस सौउसेकले काउन्टर अट्याकमा फालेको पासमा ज्याक हेन्ड्रीले गल्ती गरेपछि प्याट्रिकले मैदानको मध्यभागबाटै गोलरक्षक अघि बढेको अवस्थामा गरेको लामो प्रहारले जाली चुमेको थियो । गोलरक्षक मार्सलले बचाउने प्रयास गरेपनि सफल भएनन् ।

यो जितसँगै समूह ‘डी’ मा ३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ३ अंक भएपनि गोल अन्तरमा इंग्ल्यान्ड दोस्रो स्थानमा छ । क्रोएसिया तेस्रो तथा स्कटल्यान्ड पुछारमा छ ।