कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहलाई सम्मान गरिँदै ।

हेटौंडाः नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहलाई हेटौंडामा सम्मान गरिएको छ । सचेत नागरिक युवा समूह मकवानपुरले सोमबार बिहान हेटौंडामा मन्त्री साहलाई सम्मान गरेको हो ।

बारा जिल्लाको किसानकै छोरी मन्त्री भएको खुसियालीमा बधाई दिँदै सचेत नागरिक युवा समूह मकवानपुरको तर्फबाट किसानका समस्या समाधान गर्न मन्त्री साहलाई आग्रह समेत गरिएको समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

कृषिको आधुनिकीकरण, कृषकको लागतको उचित मूल्य कायम गर्ने, किसानका लागि आवश्यक मल, बीउ, बीजन तथा उपकरण उपलब्ध गराउन पनि मन्त्री साहलाई आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । नेकपा एमालेबाट मन्त्री बन्नुभएकी साहलाई सचेत नागरिक युवा समूह मकवानपुरले सम्मानपत्र प्रदान गरेको छ ।