एजेन्सी – उपाधिको बलियो दावेदार मानिएको इंग्ल्यान्डले युरोपेली च्याम्पियसिपमा विजयी सुरुवात गरेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार भएको खेलमा इंग्ल्यान्डले विश्व उपविजेता क्रोएसियालाई १–० गोलले पराजित गर्दै प्रतियोगितामा जित सहित सुरुवात गरेको हो ।
युरोको इतिहासमा यसअघिका सबै संस्करणमा पहिलो खेलमा जित हात पार्न नसकेको इंग्ल्यान्डले उक्त खराब रेकर्डमा पूर्णविराम लगाएको छ । खेलको सुरुवातदेखि नै इंग्ल्यान्डले क्रोएसियालाई दवावमा राखेको थियो । घरेलु टोलीले दोस्रो हाफमा पनि क्रोएसियालाई दवावमा राख्दा ५७औं मिनेटमा अग्रता लिन सफल भयो ।
लिड्सका मिडफिल्डर काल्भिन फिलिप्सले दुई खेलाडीलाई बिट गर्दै दिएको चलाखीपुर्ण पासमा रहिम स्टर्लिङले गोल गरेका थिए । क्रोएसियन डिफेन्डरले उक्त प्रहार ब्लक गर्ने प्रयास गरेपनि वान टचमै गरेको प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिकको हातमा लाग्दै गोल हुन पुगेको थियो ।
यो जितपछि समूह ‘डी’ मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ । पराजित क्रोएसिया पुछारमा रहेको छ । यो समूहको चेक रिपब्लिक र स्कटल्यान्डबीको खेल सोमबार राति हुनेछ । यस्तै आज आइतबारको दोस्रो खेलमा समूह ‘सी’ मा रहेको अष्ट्रियालले नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्नेछ ।
खेल नेपाली समयअनुसार राति ९ः४५ बजेपछि बुकारेस्टस्थित एरिना नासिनोलामा हुनेछ । अर्को खेलमा समूह ‘सी’ मै रहेको नेदरल्यान्ड्सले घरेलु मैदान योहान क्रुएफ एरिना आम्स्टरडममा युक्रेनको आतिथ्यता गर्नेछ । खेल राति १२ः४५ बजे हुनेछ ।