वीरबल निकै धनी भएको चर्चा राज्यमा थियो । मानिसहरु भन्थे वीरबल त माग्ने सक्कली हो कि होइन चिनेर मात्र दान दिन्छन् रे । यो कुरा सम्राट अकबरले पनि वीरबललाई सोधेका थिए । वीरबलले धेरैचोटी आफूले सही माग्नेलाई मात्र दान दिने कुरा उल्लेख गरेका थिए । अकबरलाई पनि यो कुराको परीक्षण गर्न मन लाग्यो । उनले एकदिन एक धनी आफन्तलाई माग्नेको भेषमा वीरबलको घरमा पठाए ।
वीरबल मन्दिरमाा पूजा गर्न गएका थिए । माग्ने पनि मन्दिरमै गएर मन्दिरको द्वारमा बसेर माग्न थाल्यो । वीरबल बाहिर निस्के । माग्ने उनको पछि लाग्यो । वीरबल वास्तै नगरी अघि बढे । अलि वर एउटा खोला थियो । खोला तर्ने बेला जुत्ता फुकाल्नु पर्ने थियो । वीरबलले जुत्ता फुकाले । माग्नेले पनि आफ्नो च्यातिएको र प्वाल भएका जुत्ता फुकाल्यो र खोला तर्न थाल्यो । खोला तर्दा चलाख वीरबल पछि बसे । माग्ने अघि लाग्यो । पारी पुगेर पनि वीरबलचाहीँ जुत्ता हातमा लिएर केहीबेर बगरमा छिटो छिटो हिँडे ।
त्यो माग्ने भने एकछिन पनि बगरमा हिँड्न सकेन । ऊ जुत्ता लगाउन थाल्यो । वीरबलले केही पर पुगेर मात्र जुत्ता लगाए । त्यसै बेला माग्नेले भन्यो, ‘हजुर निकै दानवीर हुनुहुन्छ भनेर सुनेको थिएँ । हे दानवीर म आठ दिनदेखि भोको छु । मेरा घरपरिवार पनि भोकै छन् । कृपया मलाई दया गर्नुहोस् ।’
‘हे सज्जन भगवानले भोकै जन्माउँछन् तर खानका लागि तत्काल दूध दिन्छन् । यो संसारमा कोही पनि जन्मिएर भोकै बस्दैनन् केही न केही खान्छन् । तिमी त आठ दिनदेखि भोकै रहेछौ । तिमीसँग अवश्य पनि भगवान नराम्ररी रिसाएका हुनुपर्छ । तिमीले गर्न नहुने काम गरेको हुनुपर्छ । म तिमीलाई खानेकुरा दिएर भगवानको कसरी अपमान गरुँ ? म पापको भारी बोक्न सक्दिनँ । तिमी खुरुक्क जाऊ ।’ वीरबलले भने ।
वीरबलको कुरा सुनेर ती मानिस दरबारमा फर्के र राजालाई इति वृत्तान्त सुनाए । भोलिपल्ट जब वीरबल दरबारमा पुगे तब अकबरले माग्नेको प्रसङ्ग निकाले । उनले भने, ‘हे वीरबल तिमी आफूलाई निकै दानी र धर्मात्मा भन्छौ तर जाबो एक जना माग्नेलाई पनि केही नदिई पठाउँदा रहेछौ । एकजना माग्नेले म कहाँ तिम्रो बारेमा उजुरी गरेको छ ।’ राजाको कुरा सुनेर अकबर मुसुमुसु हाँसे ।
‘सम्राट माग्ने पनि आफ्नै उजुरी पनि आफ्नै, के गाह्रो भो र ?’ वीरबलले जवाफ दिए ।
वीरबल तिमीले किन ती माग्नेलाई केही दिएनौ यसको जवाफ देऊ ।
सम्राट त्यो मानिस माग्ने थिएन, एउटा सम्भ्रान्त मानिस थियो जसलाई हजुरले पठाउनुभएको थियो ।
‘के आधारमा तिमी उसलाई सम्भ्रान्त भन्छौ ?’ अकबरले सोधे ।
‘महाराज उसले आफू आठ दिनदेखि भोकै छु भनेको थियो तर उसको शरीर र अनुहार त्यस्तो देखिँदैनथ्यो । खोला तरेर म केहीबेर त्यो बगरमा हिँडे तर ऊ म जति पनि खाली खुट्टाले हिँड्न सकेन । यी सबै कुराले ऊ माग्ने नभएको प्रमाणित भयो ।’ वीरबल भने ।
अकबर हाँसे र उनको बुद्धिमानीको तारीफ गरे ।