हेटौंडाः रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको अग्रसरतामा हेटौंडामा जारी निशूल्क खाना खुवाउने अभियानको ११ औं दिन शनिबार २३७ जनाले खाना खाएका छन् ।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीका अनुसार हेटौंडा–४, हुप्रचौरमा १०४ जना, हेटौंडा अस्पतालमा १०० जना र असहायहरुका लागि घरमुखी सेवा ३३ जना गरी कुल २३७ जनालाई सेवा दिइएको छ । यसैगरी हेटौंडा अस्पतालमा उपचाररत ८९ जनालाई बिहानको नास्ता पनि प्रदान गरिएको छ ।
शनिबारको खानाका लागि हेटौंडा–२ स्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहयोग गरेको हो । खाना खुवाउनका लागि सहकारीकी अध्यक्ष एवम् कांग्रेस नेता महालक्ष्मी उपाध्याय ‘डीना’ आफैं उपस्थित भएर हुप्रचौरमा खाना वितरण समेत गर्नुभएको थियो । पञ्चसिद्धि फाउण्डेसनको साथमा रोटरी क्लबले निषेधाज्ञाको समयमा विपन्न परिवारलाई लक्षित गरी जेठ १२ गतेबाट निशूल्क खाना खुवाउन सुरु गरेको हो ।