शनिबार बिहान हेटौंडा–४ स्थित हेटौंडा स्पोर्टस् मुण्डियालमा मनोज श्रेष्ठले किनिदिएको खेल सामग्रीसहित भुवन कामी ।

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–१३ एकेडेमीको अन्तिम ४२ मा परेका हेटौंडा–१० का भुवन कामीलाई स्थानीय मनोज श्रेष्ठले फुटबल खेल्ने जुत्ता, जर्सी, बल अनि माया प्रदान गर्नुभएको छ । शुक्रबार एन्फाले सार्वजनिक गरेको अन्तिम नामावलीमा छात्रवृत्तिसहित एकेडेमीमा बस्ने किशोर खेलाडीको सूचिमा भुवनको नाम अटाएको छ ।

हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा बिहान साँझ फुटबल खेल्ने भुवन कामी सबैका लागि चासो र आकर्षणको विषय बन्ने गरेको थियो । फुटबलप्रति भुवनको लगाव देखेर वनविज्ञान क्याम्पसको खेल मैदानमा बिहान साँझ खेल्न आउने युवा तथा बयस्क पुस्ताका लागि भुवनको खेल कौशल रोमाञ्चक बन्ने गरेको थियो ।

भुवनकै छिमेकी मनोज श्रेष्ठले शनिबार बिहान भुवनलाई हेटौंडा–४, पारिजातपथस्थित हेटौंडा स्पोर्टस् मुण्डियालमा लगेर जुत्ता, जर्सी, बल र भविष्यमा उत्कृष्ट खेलाडी बन्न प्रेरित गर्दै माया देखाउनुभएको हो ।