Home मुख्य समाचार राजतन्त्रको अभ्यास गर्दै केपि शर्मा ओलि

राजतन्त्रको अभ्यास गर्दै केपि शर्मा ओलि

हेटौंडाः बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलले प्रधामन्त्री केपि शर्मा ओलिले नजानिदो ढंगले राजतन्त्रको अभ्यास गर्न थालेका बताउनुभएको छ । उहाँले ओलिले बालुवाटारबाटै सबै कार्यहरु गर्दै आएको भन्दै पहिले नारायणहिटीमा श्री ५ ले जस्तै काम गर्न थालेको बताउनुभएको हो ।

प्रतिनिधि सभा दोस्रो पटक विघटन गरेर, नैतिकता गुमाएर भएपनि ओलि कुर्सिमा बसिरहन चाहेको उहाँको आशय थियो । उहाँले केपि ओलि गणतन्त्र विरोधी, संविधान विरोधी भएको नाराहरु अहिले जनताको नारा भएको बताउनुभयो । आक्रोशित हुँदै उहाँले केपि ओलि प्रतिगमनकारी नै भएको प्रस्ट पार्नुभयो । कुनै एक व्यक्तिको अनिर्णयको बन्दीमा सिंगो देश हुन नहुने उहाँले भन्नुभयो ।

बागमती प्रदेशको बजेट अधिवेशनको शुभकामना दिँदै उहाँले प्रतिपक्षले सरकारको ध्यानकर्षण गराएको र सरकारले आफ्नो मागप्रति सम्बोधन गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो । मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी फाउन्डेशनलाई कार्यविधि नै नबनाई दिन लागेको ५० लाख रुपैयाँ फिर्ता लिएको यसअघि सदनमा बताउनुभएको थियो ।

यता बागमती प्रदेश सरकारको आगामी बजेट सजिलै पास गर्न प्रतिपक्षले नदिने भएको छ । बजेट पास गर्न प्रतिपक्षको हैसियतमा नेता जम्कट्टेलले कुनै पनि बार्गेनिङ नगर्ने बताउनुभएको हो । उहाँले बहुवर्षीय योजनाहरु कसरी आएका छन् रातोकिताव आएपछि एक एक योजनाको बारे छलफल हुने बताउनुभयो । केपि ओलिको सिद्धान्तअनुरुप संसद विघिटन हुनुपर्ने अवस्था आएपनि त्यसको सामना गर्ने उहाँको भनाई छ । कोभिड केन्द्रित, सबै जनमुखि विकासे योजना नआएमा बजेट पास गर्ने नदिने उहाँले सरकारलाई चेतावनी समेत दिनुभयो ।

विपक्षी दल कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले पनि रोग, भोक र खोप को व्यवस्थापन गर्नेगरी बजेट ल्याउन आग्रह गरेका छन् । बजेटले गरिब निमुखा जनता र कोभिड केन्द्रित भएर नल्याए, विपद्को राम्रो व्यवस्थापन नभए तथा बैज्ञानिक बजेट नआएमा कांग्रेसले त्यसमा आपत्ति जनाउने बताउनुभयो । राप्रपाकी सांसद रीना गुरुङले भने गणतन्त्र र संघीयता जनताको व्यवस्था नभएर नेताहरुको व्यवस्था भएको भन्दै त्यसको विरोध गर्नुभएको छ । उहाँले खुलेरै राजसंस्था कायम गर्नुपर्ने माग गर्नुभएको छ ।

Exit mobile version