Home समाचार हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

हेटौैंडाः राष्ट्रिय महिलाअधिकार दिवस २०७८ को अवसरमा आइतबार लैंगिक समानताका लागि पुरुष सहभागिता सञ्जाल (मेन इंगेज एलायन्स) मकवानपुरद्वारा हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोभिड–१९ संक्रमितको उपचारमा उपयोगी हुने स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको हो । सञ्जालको सदस्य संस्था इस्थर बेञ्जामिन स्मृति संस्थामार्फत प्राप्त स्वास्थ्य सामग्री सञ्जालमार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो ।

लैंगिक समानताका लागि पुरुष सहभागिता सञ्जाल मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । प्रदेश सभा सदस्य श्रेष्ठले हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । सञ्जालले पिपिई २० सेट, थर्मल गन २० थान, अक्सिसिटर १५ थान, २० लिटर सेनिटाइजर, मास्क १ हजार थान, ग्लोब्स १ हजार थान र एक कार्टुन साबुन हस्तान्तरण गरिएको छ ।

यो वर्ष ‘महिलाको सुरक्षा र अधिकारः संकटकालिन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ राष्ट्रिय महिलाअधिकार दिवस मनाइएको छ । स्वास्थ्य सामग्री ग्रहण गर्नुहुँदै हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंले सामुदायको सहयोगकै कारण कोभिड–१९ विरुद्ध लड्न सहयोग पुगेको बताउनुभयो । अहिले हेटौंडा अस्पतालमा कोभिड–१९ संक्रमित भई उपचार गर्न आउने गम्भीर प्रकृतिका विरामीको संख्यामा कमि आएको र गम्भीर अवस्थाका विरामीको उल्लेख्य संख्यामा उपचार गर्न सफलता मिलेको दावी गर्नुभएको छ । सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा अस्पतालका निमित्त मेसु डा. रामचन्द्र सापकोटाको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version