कोभिड–१९ को महामारीका बेला अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीले कोभिड–१९ संक्रमितको उपचारमा खटिइरहेका छन् । उपचारमा खटिएका कतिपय स्वास्थ्यकर्मीले कोभिड–१९ संक्रमणकै कारण मृत्यु वरण गर्न बाध्य भएका छन् । कोभिड–१९ संक्रमणको जोखिमकै कारण कतिपय स्वास्थ्यकर्मीले सेवाबाटै बाहिरिने निर्णय समेत गरिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीको मनोवल बढाउन आवश्यक ठानिएको छ । कोभिड–१९ महामारीविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीमाथि नै आक्रमण भइरहेको सन्दर्भमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको सदस्यसमेत रहनुभएका स्वास्थ्यकर्मी उत्सव चौलागाई कवितामा लेख्नुहुन्छ, ‘उ कुनै अपराधी हैन ।’
‘उ कुनै अपराधी हैन’
ऊ योद्धा हो
मानव सभ्यता जोगाउन हिँडेको छ
दिनदिनै हिँडेको छ
रातरातै हिँडेको छ ।
ऊसँग कुनै धारिलो हतियार छैन
तर आत्मविश्वास छ ।
उसलाई कहिल्यै अँध्यारो हुँदैन ।
ऊ तपाईंको दुखाइमा दुःखी छ
ऊ तपाईंको रुवाइमा रोएको छ
ऊ तपाईंमा खुसी फर्काउन चाहन्छ ।
जन्म र मृत्यु अकाट्य छ
ऊ मृत्युको कल्पना गर्दैन
ऊ निरासावादी हैन
ऊ आशा जगाउँछ ।
ऊ सम्मान कुरी बस्दैन
ऊ आत्मा प्रशंसा गर्दैन
ऊ खुरुखुरु काम गर्छ
उसले जात हेर्दैन
थर हेर्दैन
लिंग हेर्दैन
देश हेर्दैन
ऊसँग उच्च समवेदना छ ।
चाप्लुसशास्त्र उसको विषय हैन
नमस्कार उसको अनिवार्य भोक हैन
शुद्ध गाईको घ्यूको अपेक्षा राख्दैन
तर अपमानले उसलाई पनि दुख्छ ।
ऊ हाम्रो जीवनको सुरक्षा कवज हो
ऊ योद्धा हो
ऊ सैनिक हो
अर्थात ऊ चिकित्सक हो ।
प्रियजन
हाम्रो जीवनको अपरिहार्य उसलाई
माया चाहिएको छ
प्रेरणा चाहिएको छ
हौसला चाहिएको छ ।
ऊ कुनै हली हैन ।
प्रियजन
एकपटक उसको
अभाव महसुस गर्नोस् त ?
ऊ योद्धा हो
ऊ स्वास्थ्यकर्मी हो
तर कुनै अपराधी हैन ।