हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ५ नम्बर वडास्थित टोल विकास संस्था तथा टोल विकास संस्था वडा समन्वय समितिका पदाधिकारीले हेटौंडा अस्पताललाई ५० सिलिण्डर अक्सिजन सहयोग गरेको छ । कोभिड–१९ संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन सहयोग गरिएको हो ।
अक्सिजनको अभावमा कुनै पनि संक्रमित व्यक्तिले ज्यान गुमाउनु नपरोस्, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोवल उच्च रहोस्, कोरोना माथिको नियन्त्रण मा बल पुगोस्, स्वास्थ्य जनचेतना जागरणलाई विस्तार होस् भन्ने उद्देश्यकासाथ अक्सिजन सहयोग गरिएको टोल विकास संस्था वडा समन्वय समितिका सचिव सुधीर थापाले जानकारी दिनुभएको छ ।
टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष देवीप्रसाद दाहालले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार एवम् हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई हस्तान्तरण गरिएको छ । अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, अनेम संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेको पनि उपस्थिति रहेको थियो ।
अक्सिजन सहयोगका लागि टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष देवीप्रसाद दाहाल, सचिव सुधीर थापा, कोषाध्यक्ष ताराप्रसाद अधिकारी, सदस्य टिकाबहादुर खड्का, नगर समन्वय समितिका सदस्य पदम बहादुर बजगाई, शान्ति नगर टोल विकास संस्थाका अध्यक्ष देवबहादुर बुढाथोकी, सीतानगर टोल विकास संस्थाका अध्यक्ष ईन्द्रबहादुर कार्की, भूतपूर्व सैनिक मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष उद्धव बहादुर थापा, व्यवस्थापक पार्वती केसी, गोल्डेन यातायात प्रालिका व्यवस्थापक शिवबहादुर थापाको आर्थिक सहयोगमा अक्सिजन सिलिण्डर सहयोग गरिएको हो । जनही पाँच हजार रुपैयाँका दरले सहयोग रकम संकलन गरेर अक्सिजन खरिद गरिएको सचिव थापाले बताउनुभएको छ ।