हेटौंडाः पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पतालमा उपचाररत ३ जना बिरामीको मृत्यु भएको छ । हिजो शुक्रबार बेलुका र राती २ जना तथा आज शनिबार बिहान १ जना गरी ३ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पताले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडा–१ का ७६ वर्षीय पुरुष, हेटौंडा–८ का ९६ वर्षीय पुरुष र रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–१९ का ५२ वर्षीय पुरुष रहेका छन् । उनीहरुको क्रमशः शुक्रबार साँझ ५ः१८ बजे, राति ९ः४५ बजे र शनिबार बिहान ९ः०४ बजे मृत्यु भएका अस्पतालका सूचना अधिकारी राजीव झाले जानकारी दिनुभयो ।
अस्पतालमा हाल २५ जना महिला र २८ जना पुरुष गरी कुल ५३ जना कोरोना संक्रमित उपचार रहेका छन् । जसमा १३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेका कारण १३ जना आइसियू र १७ जना एचडियूमा उपचाररत रहेको पनि उहाँले बताउनुभयो ।