हेटौंडाः रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको संयुक्त पहलमा हेटौंडाको हुप्रचौरमा शुक्रबार तेस्रो दिन पनि निशूल्क खाना खुवाउने क्रम जारी रहेको छ । शुक्रबार १३८ जनाले निशूल्क खाना खाएका छन् ।

रोटरी क्लब अफ मकवानपुरका निर्देशक शुक्र राज जोशीको संयोजकत्वमा जेठ १२ गतेबाट सुरु गरिएको भोकालाई निशूल्क खाना कार्यक्रमको तेस्रो दिन शुक्रबार हुप्रचौरमा ३२ जना, हेटौंडा अस्पतालमा बिरामी कुरुवाका लागि ८५ र असहाय बिरामीहरुका लागि घरमै २१ जना गरी कुल १३८ जनालाई सेवा दिइएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभएको छ । यसअघि दोस्रो दिन बिहीबार हेटौंडा–४, हुप्रचौरमा ९२ जना, हेटौंडा अस्पतालमा बिरामी कुरुवाका लागि ५०, असहाय बिरामीहरु १७ जनालाई घरमै लैजाने व्यवस्थासहित १५९ जनालाई खाना खुवाइएको पनि अध्यक्ष सांगामीले बताउनुभएको छ ।

यसैबीच रोटरी क्लबले शनिबार बिहानदेखि हेटौंडा अस्पतालमा उपचाररत विरामीको पोषणका लागि मुंग दालको सुप र अण्डा वितरण गरिने भएको छ । रोटरीले मानवीय सेवाको कार्य भन्दै निषेधाज्ञा अवधिभर हरेक दिन बिहानको एकछाक खाना खुवाउने कार्यक्रम निरन्तरता दिने जनाएको छ ।

निशूल्क खाना खुवाउने रोटरी क्लबको अभियानमा दैनिक सहयोग जुट्ने क्रम पनि जारी छ । निशूल्क खाना खुवाउने अभियानमा साथ दिन शुक्रबार काठमाडौं निवासी रेडियो नेपालकी पूर्वसमाचार वाचिका कृष्णा ताम्राकारबाट एकदिनको खानाका लागि सहयोग प्राप्त भएको छ । यस्तै हेटौंडा–७ कमाने निवासी श्री हेम नारायण चौधरीबाट हेटौंडा अस्पतालका बिरामीको बिहानको पोषणका लागि १० क्रेट अण्डा प्रदान गर्नु भएको छ ।

यसअघि बिहीबार निशूल्क खाना खुवाउने अभियानलाई सघाउन हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, हेटौंडा–१ पीपलबोटका व्यवसायी नियम राज शाक्य, हेटौंडा–४, खोपेगल्लीस्थित सागर मार्टका संचालक बिजय सागर श्रेष्ठ, रोटरी क्लब अफ मकवानपुरका सदस्य दीपक रोक्का र पवन तिमल्सिनाबाट सहयोगको प्रतिवद्धता पाएको कार्यक्रम संयोजक शुक्र राज जोशीले जानकारी दिनुभएको छ ।