Home समाचार महामारीविरुद्ध एकाकारमा प्रेरित गर्नु सञ्चारकर्मीको दायित्वः अध्यक्ष पोखरेल

महामारीविरुद्ध एकाकारमा प्रेरित गर्नु सञ्चारकर्मीको दायित्वः अध्यक्ष पोखरेल

हेटौंडाः नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले कोभिड–१९ को महामारीविरुद्ध आम नागरिकलाई एकाकार गर्न सञ्चारकर्मीको दायित्व हुने बताउनुभएको छ । बिहीबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आयोजना गरेको पत्रकार आचारसंहिता र वर्तमान अवस्थामा सञ्चारकर्मीहरुको भूमिका विषय भर्चुअल अन्तरक्रियामा अध्यक्ष पोखरेलले कोरोना संक्रमणको चुनौतीपूर्ण समयका बेला आम नागरिकलाई यसका बिरुद्ध एकाकार हुन प्रेरित गर्नु सञ्चारकर्मीको दायित्व हुने बताउनुभएको हो ।

अध्यक्ष पोखरेलले सबैको एकताबद्ध प्रयासबाट नागरिकको जीवन सुरक्षामा सहयोग हुने गरी सञ्चारकर्मीहरु क्रियाशील हुनुपर्ने बताउनुभयो । समयको संवदेनशीलतालाई ध्यानमा राखेर सकारात्मक सन्देश प्रवाह गर्ने र जनस्वास्थ्यका विषयमा राज्यका निकायहरुको निरन्तर ध्यानाकर्षण गराउने कामसमेत सञ्चारकर्मीहरुले प्रभावकारी बनाउनुुपर्ने उहाँले जानकारी दिनुभएको छ । पोखरेलले पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयनबाट महासंघप्रतिको नागरिकको विश्वास निरन्तर कायम रहने बताउनुहुँदै सकारात्मक समाचार सम्प्रेषणले नागरिकको मनोबल उच्च भई संक्रमणको प्रतिरोध गर्ने क्षमता अभिवृद्धि हुने तथ्यलाई मनन गर्नसमेत आग्रह गर्नुभएको छ ।

अन्तरक्रियामा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा भएगरेका प्रयासहरुका बारेमा आम नागरिकलाई जानकार बनाउँदै पत्रकार आचारसंहिताको पूर्ण पालनाका साथ स्वास्थ्य सुरक्षा सावधानीका साथ क्रियाशील रहनुपर्नेमा जोड दिनुभएको छ । महासंघका महासचिव रोशन पुरीले कोरोना संक्रमणका कारण समस्यामा परेका सञ्चारकर्मीहरुको उपचार र राहतमा महासंघले कुनै कसर बाँकी नराख्ने बताउनुहुँदै स्थानीयस्तरमा क्रियाशील सञ्चारकर्मीहरुको समस्यामा निरन्तर सहयोगी भूमिका निर्वाह गर्न महासंघका सबै संरचनाहरुलाई क्रियाशील बनाएको बताउनुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु रमेश खतिवडा, सुनिल खड्का, बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप बिष्ट र न्यूनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य बिमला पाण्डेलगायतले कोरोना संक्रमणका कारण समस्यामा परेका सञ्चारकर्मीहरुको समस्या समाधानका लागि राज्यको ध्यानाकर्षण हुनुपर्ने बताउनुभएको छ । सबैको एकतावद्ध प्रयत्नको बलमा मात्र महामारीको सामना गर्न सकिने तथ्यलाई आत्मसात गर्नु जरुरी रहेको सहभागीहरुको धारणा थियो ।

महासंघ बागमती प्रदेश समिति अध्यक्ष शिव देवकोेटाले सकारात्मकरुपमा पत्रकारहरुको कार्य अगाडि बढेको बताउनुभएको छ । प्रदेश सरकारसँग समन्वय गरी सञ्चार जगतलाई उद्योगको रुपमा स्थापित गराउने, स्नातकोत्तर तहमा अध्ययनरत श्रमजीवी पत्रकारका लागि छात्रवृत्तिकोे व्यवस्था गराउन पहल जारी रहेको र विपतमा परेका पत्रकारका लागि सहयोगको पहल भइरहेको बताउनुभएकोे छ । बागमती प्रदेशको प्रत्येक जिल्लामा सूचना केन्द्रकोे स्थापना गराउने उद्देश्यले कार्य गरिरहेकोमा यसै वर्षदेखि चारवटा जिल्लामा बजेटको व्यवस्था गरी सूचना केन्द्र्र स्थापना गरिने उहाँले बताउनुभएकोे छ ।

Exit mobile version